बुफोनले गरे रोनाल्डोको प्रशंसा

एजेन्सी, भदौ २२
इटालियन क्लब युभेन्टसका लिजेन्ड गोलकिपर जियानलुइजी बुफोनले पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँग एकै टोलीमा खेलेर सहकर्मी बन्दै सन्यास लिन पाउनु आफ्ना लागि सुन्दर उपहारजस्तो हुने बताएका छन् । युभेन्टसले हालै लगातार नवौंपटक सिरी ए उपाधि जितेपछि मिडियासँग कुरा गर्दै ४१ वर्षीय इटालियन गोलकिपरले यस्तो बताएका हुन् ।

गत सिजनबाट रोनाल्डोसँग सहकर्मी बनेर खेलिरहेका बुफोनको रोनाल्डोसँग विगतबाटै व्यक्तिगत रूपमा निकै राम्रो सम्बन्ध छ । खास गरी बुफोन रोनाल्डोसँग खेल्नकै लागि पिएसजीबाट पुनः एक सिजनपछि नै युभेन्टस फर्किएका थिए । सो कुरा उनी आफैंले बताएका थिए ।

‘क्रिस्टियानो आधुनिक फुटबलका सर्वोत्कृष्ट खेलाडी हुन् । त्योभन्दा बढी उनी एक असल व्यक्ति हुन् । र, हाम्रा लागि असल सहकर्मी र च्याम्पियन खेलाडी हुन्,’ बुफोनले भनेका छन्, ‘उनको सहकर्मीका रूपमा रहेर सन्यास लिनु मेरा लागि एक सुन्दर उपहारजस्तै हुनेछ ।’

बुफोनले रोनाल्डोसँग आफूले अझै थुप्रै उपाधि जित्ने पनि बताए । ‘हामी अझै सँगै थुप्रै उपाधि जित्नेछौं । हामी अझै राम्रा दिनको खोजीमा छौं,’ बुफोनले भने ।

प्रकाशित मिति २२ भाद्र २०७७, सोमबार १३:११
Loading...