सिरी ए सेलिब्रेसनपछि च्याम्पियन्स लिगका लागि डिबाला उत्साहित : तयारीबारे यसो भन्छन्

एजेन्सी, साउन १९
यस सिजनको घरेलु लिग सिरी ए जितेपछि युभेन्टसका फरवार्ड पाउलो डिबालाले अब च्याम्पियन्स लिगका लागि उत्साहित रहेको बताएका छन् । गत राति युभेन्टस लिगको अन्तिम खेलमा आफ्नै घरमा रोमासँग १–३ ले हारे पछि ऊ त्यसअघि नै उपाधि च्याम्पियन बनिसकेको थियो । सो खेलपछि युभेन्टसले घरेलु रंगशालामा उपाधि सेलिब्रेसन गरेको थियो । क्रिस्टियानो रोनाल्डो र डिबालाले सो खेल नखेले पनि उनीहरू उपाधि सेलिब्रेसनमा सहभागी भए ।

अब युभेन्टसले ५ दिनपछि नै च्याम्पियन्स लिगको अन्तिम १६ मा दोस्रो लेगको निर्णायक खेलमा फ्रेन्च क्लब लियोनसँग खेल्दैछ । युभेन्टस पहिलो लेगमा १–० ले पछि परेको अवस्थामा नतिजा उल्टाउने लक्ष्यसहित आफ्नो घरेलु मैदानमा खेल्दा दबाबमा हुनेछ । त्यसमा पनि पछिल्लो समय युभेन्टसको प्रदर्शन खराब अवस्थामा रहेकाले सो खेलअघि इटालियन च्याम्पियन चर्को दबाब र तनावमा हुने पक्का छ ।

तर, अर्जेन्टिनी फरवार्ड डिबालाले भने सिरी ए उपाधिको खुसीयाली मनाएपछि मिडियासँग कुरा गर्दै आफूहरूले च्याम्पियन्स लिगबारे सोच्न थालिकसकेको र तयारीमा केन्द्रित रहेको बताए । ‘लगातार लिग जित्दा हामी खुसी छौं । तर, हामीलाई विश्राम गर्ने समय छैन । हामी आजैका दिनबाट च्याम्पियन्स लिगबारे सोच्न थालिसकेका छौं,’ डिबालाले भने, ‘हामी लियोनविरुद्ध खेल्दा च्याम्पियन मनोबलका साथ खेल्नेछौं ।’

डिबालाले लियोनविरुद्ध कमब्याक नगर्दा पनि हुने छुट आफूहरूलाई नरहेको बताए । ‘हामीलाई कुनै छुट छैन । हामीले लियोनविरुद्ध पुनरागमन गरेर अर्को चरण जानैपर्छ । अहिलेको हाम्रो सम्पूर्ण ध्यान र पहिलो लक्ष्य एलिनाज रंगशालामा एक सुन्दर खेल खेल्दै शानदार कमब्याक गर्नु हो,’ उनले थपे, ‘हामी त्यसका लागि उत्साहित छौं ।’

डिबाला हाल चोटसँग जुधिरहेका छन् । उनले चोटकै कारण पछिल्ला दुई खेल खेलेनन् । तर, च्याम्पियन्स लिगमा लियोनविरुद्ध उनी फिट हुने अपेक्षा गरिएको छ । ‘म अहिले राम्रो महसुस गरिरहेको छु । मेडिकल टिमले मलाई हेरिरहेको छ । मलाई विश्वास छ, म लियोनविरुद्ध खेल्न सक्नेछु,’ डिबालाले भने ।

जारी सिजन युभेन्टसको टोलीमा डिबाला र रोनाल्डो सबैभन्दा महत्त्वपर्ण खेलाडी हुन् । घरेलु लिगमा पनि उनीहरूले उत्कृष्ट साझेदारी गरेका थिए । यदि च्याम्पियन्स लिगमा यी दुई एकसाथ उपलब्ध नहुने हो भने लियोनविरुद्धको खेलमै युभेन्टसलाई ठूलो चुनौती हुनेछ ।

प्रकाशित मिति १८ श्रावण २०७७, आईतवार २०:३७
Loading...