दोस्रोपटक सिरी ए जितेपछि रोनाल्डोले गरे यस्तो संकल्प

एजेन्सी, साउन १९
इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले लगातार दोस्रोपटक घरेलु लिग सिरी ए जितेपछि खुसी व्यक्त गर्दै नयाँ संकल्प गरेका छन् । गत राति लिगको अन्तिम खेलपछि युभेन्टसले घरेलु मैदानमा उपाधि सेलिनब्रेसन गरेको थियो । लिगका अन्तिम २ खेलअघि नै युभेन्टस च्याम्पियन बने पनि उसलाई गत राति सिजनको अन्तिम रोमाविरुद्धको खेलपछि मात्रै उपाधि प्रदान गरिएको थियो ।

युभेन्टसले यसपटक जितेसँगै लगातार नवौंपटक लिग उपाधि जितेको हो । उसले पछिल्ला ९ सिजन लिगमा एकछत्र राज गर्दै आएको छ । गत सिजन र यस सिजन गरी रोनाल्डोले युभेन्टसबाट लगातार दुई सिजन लिग उपाधि जिते । उनले अब फरक–फरक लिगबाट गरी कूल ७ लिग उपाधि जितेका छन् । यसपटकको उनको सातौं लिग उपाधि हो । उनले यस सिजन लिगमा कूल ३१ गोल गरे ।

गत राति घरेलु मैदान एलिनाज रंगशालामा उपाधि सेलिब्रेसन गरेपछि रोनाल्डोले सामाजिक सन्जालमार्फत् तस्बिर पोस्ट गर्दै लगातार दोस्रोपटक लिग जित्न पाउँदा खुसी लागेको बताएका छन् । साथै, उनले लगातार उपाधि जित्दा यो सजिलोजस्तो देखिए पनि त्यस्तो नरहेको पनि बताएका छन् । त्यत्ति मात्र हैन, रोनाल्डोले अब तेस्रोपटक उपाधि जित्ने संकल्प पनि गरेका छन् । उनले सेलिब्रेसनको सामूहिक तस्बिरसँगै स्टाटस लेखेका छन्–

‘युभेन्टसका लागि पछिल्ला ९ मध्ये लगातार २ सिरी ए उपाधि जित्न पाउँदा खुसी छु । यो सहज देखिन्छ तर त्यस्तो छैन । हरेक वर्ष क्षमता, समर्पण र कडा मेहनतले मात्रै यस्ता उपलब्धि प्राप्त गर्न सकिन्छ । अब म तेस्रो उपाधिका लागि अघि बढ्नेछु ।’

प्रकाशित मिति १८ श्रावण २०७७, आईतवार १३:२३
Loading...