इतिहास रच्दै युभेन्टसले उचाल्यो लगातार नवौंपटक सिरी ए उपाधि

काठमाडौं, साउन १९
इटालियन महारथि क्लब युभेन्टसले घरेलु सिरी ए लिगमा नयाँ इतिहास रचेको छ । सिजन २०१९–२० मा लिग उपाधि जित्दै युभेन्टस अब युरोपमा सबैभन्दा धेरै वर्ष लगातार उपाधि जित्ने क्लब बनेको छ । युभेन्टसले यसपटक उपाधि जित्दा लगातार नवौंपटक लिग च्याम्पियन बनेको हो ।

गत राति लिगको अन्तिम खेलमा युभेन्टस आफ्नै घरेलु मैदानमा रोमासँग १–३ ले हारे पनि शीर्ष स्थानमा १ अंकको अग्रता बनाएर उपाधि जित्यो । उसले इन्टर मिलानलाई पछि छाड्दै अन्तिम २ खेल बाँकी छँदा नै उपाधि जितिसकेको थियो । गत राति आफ्नो घरेलु मैदानमा लिगको अन्तिम खेलपछि युभेन्टसलाई उपाधि प्रदान गरिएको थियो ।

युभेन्टस अब युरोपका टप–५ लिगमा सबैभन्दा धेरैपटक लगातार उपाधि जित्ने क्लब पनि बनेको छ । युभेन्टसपछि जर्मन क्लब बार्यन म्युनिखले लगातार आठपटक बुन्डेसलिगा जितेको छ । बार्यनले सिजन २०१९–२० मा उपाधि जित्दै आठौंपटक लगातार उपाधिमा बाजी मारेको हो ।

अब सिरी ए लिगमा युभेन्टसले हालसम्म कूल ३६ पटक लिग उपाधि जितेको छ । ऊपछि एसी मिलान र इन्टर मिलानले समान १८–१८ पटक लिग जित्दा जेनोआले ९ पटक जितेको छ ।

प्रकाशित मिति १८ श्रावण २०७७, आईतवार ११:४५
Loading...