सात लिग उपाधि : सातपटक नै सर्वाधिक गोलकर्ता !

काठमाडौं, साउन १९
इटालियन सिरी ए क्लब युभेन्टसले लगातार नवौंपटक घरेलु लिग जित्दा क्रिस्टियानो रोनाल्डोले लगातार दोस्रो सिजन उपाधि जिते । सिजन २०१९–२० मा युभेन्टसले उपाधि जितेसँगै पोर्चुगिज फरवार्ड रोनाल्डोले भने लगातार दुईपटक सो उपाधि जितेका हुन् । यससँगै ३५ वर्षका रोनाल्डोले आफ्नो करिअरमा कूल ७ पटक घरेलु लिग जितेका छन्, त्यो पनि युरोपका फरक–फरक लिगबाट ।

रोनाल्डोले ७ पटक लिग उपाधि जित्दा युरोपमा कठिन मानिने लिगबाट जितेका छन् । जसमा उनले सबैभन्दा बढी तीनपटक इंग्लिस प्रिमियर लिग जितेका छन् भने दुईपटक स्पेनिस ला लिगा र दुईपटक सिरी ए उपाधि जितेका छन् । युरोपमा कठिन लिगमा रूपमा प्रिमियर लिग, ला लिगा र सिरी ए नै मानिन्छन् ।

यसपटक रोनाल्डो दोस्रोपटक सिरी ए तथा समग्रमा सातौंपटक लिग जित्दा एक रेकर्ड पनि बनेको बनेको छ । त्यो के भने, रोनाल्डो अब ७ पटक लिग उपाधि जित्दा ७ पटकै नै आफ्नो टिमको सर्वाधिक गोलकर्ता बन्ने पहिलो खेलाडी बनेका छन् । र, यस्तो रेकर्ड अन्य कुनै पनि खेलाडीका नाममा छैन ।

यो रेकर्ड स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीका नाममा पनि छैन । मेस्सीले बार्सिलोनाबाट कूल १० पटक ला लिगा जित्दा उनी जम्मा ६ पटक मात्रै टिमको सर्वाधिक गोलकर्ता बनेका छन् । तर, उनी ६ पटक टिमको सर्वाधिक गोलकर्ता बन्दा ६ पटक नै युरोपको सर्वाधिक गोलकर्ता पनि बनेका छन् ।

रोनाल्डोका ७ लिग उपाधि र गोल संख्या हेरौं –

  1. प्रिमियर लिग – सिजन २००६–०७ – १७ गोल (३४ खेल)
  2. प्रिमियर लिग – सिजन २००७–०८ – ३१ गोल (३४ खेल)
  3. प्रिमियर लिग – सिजन २००८–०९ – १८ गोल (३३ खेल)
  4. ला लिगा – सिजन २०११–१२ – ४६ गोल (३८ खेल)
  5. ला लिगा – सिजन २०१६–१७ – २५ गोल (२९ खेल)
  6. सिरी ए – सिजन २०१८–१९ – २१ गोल (३१ खेल)
  7. सिरी ए – सिजन २०१९–२० – ३१ गोल (३३ खेल)

प्रकाशित मिति १८ श्रावण २०७७, आईतवार १०:४८
Loading...