सिजनको अन्तिम खेलमा रोमाद्वारा युभेन्टसको उसकै घरमा धुलाइ !

काठमाडौं, साउन १८
टोलीका प्रमुख खेलाडीहरूलाई आराम दिइएको सिरी ए लिगमा सिजनको अन्तिम खेलमा रोमाले युभेन्टसलाई उसकै घरलु मैदानमा नमिठो हार चखाएको छ । गत राति भएको लिगको ३८औं खेलमा रोमाले युभेन्टसलाई उसकै घरेलु मैदानमा १–३ गोलअन्तरले स्तब्ध बनायो ।

एलिनाज रंगशालामा युभेन्टसले खेलको सुरुआतमै अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा सिजनको अन्तिम खेलमा पराजय भोगेको हो । युभेन्टसका लागि खेल सुरु भएको पाँचौं मिनेटमै गोन्जालो हिगुइनले गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसपछि पाहुना टोलीले लगातार ३ गोल हान्यो ।

रोमाका लागि खेलको २३औं मिनेटमा निकोलाले गोल गरेर खेल १–१ बनाए । फेरि खेलको ४४औं मिनेटमा डिएगो पेरोट्टीले पेनाल्टीमार्फत् गोल गरेर टिमलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । बक्समा विपक्षी खेलाडीमाथि फउल गरेपछि रोमालाई पेनाल्टी दिएको थियो ।

त्यसपछि दोस्रो हाफ सुरु भएको ७ मिनेटमै रोमाका लागि पेरोट्टीले नै व्यक्तिगत दोस्रो गोल गरेर टिमलाई जिततर्फ अघि बढाए । त्यसपछि खेलभरि नै दुवै टोलीबाट थप गोल भएन । र, खेल रोमाले १–३ ले जित्यो । रोमाले युभेन्टसलाई सन् २०१८ पछि पहिलोपटक उसकै घरमा हराउन सफल भयो ।

अब सिजन सकिँदा युभेन्टसले कूल ३८ खेलबाट ८३ अंक जोडेर सिजन सिध्यायो । इन्टर मिलान ८२ अंकसहित दोस्रो स्थानमा रह्यो भने एटलान्टा ७८ अंकसहित तेस्रो स्थानमा रह्यो । लाजियो ७८ अंकसहित चौथो स्थानमा रहँदा रोमा ७० अंकसहित पाँचौं तथा एसी मिलान ६६ अंकसहित छैटौं स्थानमा रह्यो । ६२ अंक भएको नापोली सातौं स्थानमा रह्यो ।

प्रकाशित मिति १८ श्रावण २०७७, आईतवार ०७:०९
Loading...