सिजनको अन्तिम खेलमा रोनाल्डोलाई विश्राम : सिरोले जिते पहिलोपटक गोल्डेन बुट

एजेन्सी, साउन १७
सिरी ए लिगको सिजनको अन्तिम खेलमा युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले नखेल्ने भएका छन् । आज राति हुने ३८औं खेलमा घरेलु मैदानमा रोमाविरुद्ध हुने खेलमा सार्वजनिक युभेन्टसको टोलीमा रोनाल्डोलाई राखिएको छैन । यसको अर्थ लिगको अन्तिम र घरेलु मैदानमा उपाधि सेलिब्रेसन हुने खेलमा पोर्चुगिज फरवार्डलाई देख्न पाइनेछैन ।

रोमासँगको खेलअघि आयोजित पत्रकार सम्मेलनमा सहभागी हुनेक्रममा प्रशिक्षक सार्रीले रोमाविरुद्ध रोनाल्डोले खेल्न चाहेको तर आफूले निर्णय लिन बाँकी रहेको बताएका थिए । तर, प्रशिक्षक सार्री र रोनाल्डोको आपसी छलफलबाट उनलाई आराम दिइने निर्णय भएको हो । च्याम्पियन्स लिगको तयारीका लागि रोनाल्डोलाई आराम दिइएको हो ।

यससँगै रोनाल्डोको लिगको सर्वाधिक गोलकर्ता बन्ने दौड सकिएको छ । साथै, युरोपियन गोल्डेन बुटमा उनको दौड पनि समाप्त भएको छ । अब लाजियोका सिरो इम्मोबिलेले अन्तिम खेल बाँकी छँदै युरोपियन गोल्डेन बुट जितेका छन् । उनी करिअरमा तेस्रोपटक सिरी ए लिगको सर्वाधिक गोलकर्ता बन्दा पहिलोपटक गोल्डेन बुट जित्न सफल भएका छन् ।

हाल सिरोको कूल गोल संख्या ३५ छ । आजै राति लाजियोले नापोलीसँग आफ्नो अन्तिम खेल खेल्दै छ । पछिल्लो समय गोल्डेन बुटमा सिरो र रोनाल्डोसँगै जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्की रहेका छन् । तर, सिरोले लेवान्डोस्कीलाई पछि पार्दै गोल्डेन बुटमा लिड लिएका थिए ।

अन्तिम खेलसम्म सिरोलाई रोनाल्डोले टक्कर दिने भए पनि रोनाल्डोले अन्तिम खेल नखेल्ने भएपछि सिरो स्वतः युरोपको सर्वाधिक गोलकर्ता बनेका हुन् । आज राति लाजियो र नापोलीको खेल तथा युभेन्टस र रोमाको खेल एकसाथ राति १२ः३० बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति १७ श्रावण २०७७, शनिबार १८:१७
Loading...