मेस्सी छाडेर रोनाल्डो रोजे डे ब्रुयानेले : सँगै खेल्ने इच्छा !

एजेन्सी, साउन १७
यो समयको फुटबलमा ‘असिस्ट मास्टर’ र ‘नम्बर वान प्ले मेकर’ खेलाडी भनेर चिनिने इंग्लिस क्लब म्यानचेस्टर सिटीका बेल्जियन मिडफिल्डर केभिन डे ब्रुयानेले इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोसँग खेल्ने चाहना व्यक्त गरेका छन् । हालै एक अन्तर्वार्तामा कुरा गर्दै उनले आफ्नो टोलीभन्दा बाहिरका खेलाडीबाट आफूले खेल्न चाहेको खेलाडी रोज्नु परे दोधार नगरी रोनाल्डो छान्ने बताएका छन् ।

गत फेब्रुअरीमा ३५औं जन्मोत्सव मनाएका रोनाल्डो यो उमेरमा पनि शानदार प्रदर्शन गरिरहेका छन् । यो उमेरमा पनि उनी जादुयी तरिकाले शानदार गोलहरू गरिरहेका छन् । यस सिजन उनले गरेको एक हेडिङ गोल निकै चर्चित रह्यो, जुन उनले २.६८ मिटर माथिसम्म जम्प हानेर शानदार ढंगले हेडिङमार्फत् गरेका थिए ।

रोनाल्डोको हेडिङ गोलको खुबीको डे ब्रुयानेले खुलेर तारिफ गरेका छन् । उनले आफूले प्रायः बल पास गर्दा उचाइमा दिने भएकाले आफ्ना असिस्ट गोलमा परिणत गर्न रोनाल्डो नै सबैभन्दा उचित खेलाडी हुने बताए । आफूजस्तो क्रिएटिभ खेलाडीका लागि सबै हिसाबले असिस्टमा ‘फिनिसिङ’ दिन सक्ने रोनाल्डोजस्तो आधुनिक फुटबलमा कोही नरहेको उनले बताए ।

डे ब्रुयानेले भनेका छन्– ‘मजस्तो एक क्रिएटिभ खेलाडीले यदि कोही पार्टनर चाहन्छु भने क्रिस्टियानो रोनाल्डो हुन्, जो निकै छिटा छन् र बललाई जसरी पनि फिनिसिङ गर्न सक्छन् । उनी मेरा लागि पर्फेक्ट पार्टनर हुन्छन् ।’

डे ब्रुयानेले अघि थपे, ‘म बललाई ३ मिटर उचाइसम्म पास दिन सक्छु । र, उनले अझै यो उचाइका बलमा जादुयी गोल गरिरहेका छन् । विपक्षीको बक्स क्षेत्रमा उनीजस्ता खेलाडी हुँदा भने अवश्य पनि मेरो असिस्ट संख्या झनै बढ्छ । उनी एक पूर्ण खेलाडी हुन् ।’

प्रकाशित मिति १७ श्रावण २०७७, शनिबार १६:४०
Loading...