युभेन्टसले सार्वजनिक गर्‍यो नयाँ सिजनको जर्सी

एजेन्सी, साउन १५
इटालियन क्लब युभेन्टसले नयाँ सिजन २०२०–२१ का लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । उसले यो सिजनको अन्तिम खेलअघि नयाँ सिजनमा प्रयोग हुने प्रमुख जर्सी सार्वजनिक गरेको हो । फुटबल क्लबहरूले सामान्यतः होम, अवे र तेस्रो गरी तीन फरक–फरकखाले जर्सी प्रयोगमा ल्याउँदै आएका छन् । युभेन्टसको जर्सी चर्चित कम्पनी एडिडासले बनाउँछ ।

जसअन्तर्गत युभेन्टसले होम किटका रूपमा प्रयोग हुने प्रमुख जर्सी औपचारिक रूपमा सार्वजनिक गरेको हो । नयाँ जर्सीमा ब्रान्ड कलर सेतो र कालो सजिएको छ । अघिल्लोभन्दा यसपटकको जर्सी केही फरक छ । जसमा सेतो पृष्ठभूमिमा कालो ब्रासस्ट्रोक राखिएको छ । जर्सीमा क्लब र एडिडास दुवैको लोगो पहेंलो कलरमा राखिएको छ ।

यसपटकको जर्सी झट्ट हेर्दा केही भिन्न देखिन्छ । अहिले प्रयोग भइरहेको मुख्य जर्सीमा दुईवटा मात्रै पाटा थिए, जसमा एकातर्फ कालो र अर्कातर्फ सेतो कलर प्रिन्ट छ । तर, नयाँ जर्सीमा सेतो ब्याकग्राउन्डमा कालो लाइन राखिएको छ ।

युभेन्टसले अब अवे जर्सी र तेस्रो जर्सी भने सार्वजनिक गर्न बाँकी छ । यी जर्सी अवे खेल र च्याम्पियन्स लिगमा प्रयोग गरिन्छ । तर, होम जर्सी भने सबै प्रतियोगितामा एकै प्रयोग गर्ने चलन छ ।

प्रकाशित मिति १५ श्रावण २०७७, बिहीबार २०:२९
Loading...