‘रोनाल्डो र डिबाला युभेन्टसका मुटु हुन्’

एजेन्सी, साउन १५
क्रिस्टियानो रोनाल्डो र पाउलो डिबाला इटालियन क्लब युभेन्टसका लागि मुटुजस्तै रहेको प्रशिक्षक माउरिसियो सार्रीले बताएका छन् । गत राति लिगको ३७औं खेल अवे मैदानमा २–० ले हारेपछि मिडियासँग कुरा गर्दै सार्रीले उनीहरू दुईमध्ये कुनै एक खेलाडी टोलीमा नहुँदा ठूलो असर पर्ने बताए ।

गत राति युभेन्टसले क्याग्लिअरीविरुद्ध खेल्दा डिबाला चोटका कारण टोलीमा थिएनन् । उनी त्यसअघि उपाधि च्याम्पियन बनेको खेलमै चोट बोकेर पहिलो हाफमै मैदान छाडेका थिए । त्यसैकारण उनले गत रातिको खेल गुमाएका थिए । डिबाला च्याम्पियन्स लिगमा फ्रेन्च क्लब लियोनसँगको खेलमा फिट हुने अपेक्षा गरिएको छ ।

युभेन्टसको टोलीमा आक्रमणपंक्तिमा रोनाल्डो र डिबालाको जोडी सबैभन्दा महत्त्वपूर्ण छ । उनीहरूको व्यक्तिगत साझेदारी कति जम्छ भनेर उनीहरूले गरेको गोल र एकअर्कालाई गरेको असिस्टबाटै थाहा हुन्छ । यतिबेला रोनाल्डो र डिबालाको जोडी युरोपमै सबैभन्दा उत्कृष्ट जोडीका रूपमा रहेको छ ।

गत राति युभेन्टसले अवे मैदानमा फितलो प्रदर्शन गर्नुका पछाडि डिबालाको अनुपस्थिति देखिने गरी खड्किएको सार्रीले बताए । ‘आज पाउलो चोटका कारण हामीसँग थिएनन् । हामीलाई उनको अभाव मैदानमा खेलभरि नै खड्कियो । किनभने, क्रिस्टियानोसँग सबैभन्दा राम्रो साझेदारी गर्न सक्ने उनी नै हुन्,’ सार्रीले भने ।

सार्रीले युभेन्टसको टोलीका लागि डिबाला र रोनाल्डो मुटुजस्तै रहेको बताए । ‘युभेन्टसका लागि क्रिस्टियानो र पाउलो मुटुजस्तै हुन्, उनीहरूमध्ये कोही एक नहुँदा पनि टोलीलाई कठिन पर्छ,’ सार्रीले भने ।

प्रकाशित मिति १५ श्रावण २०७७, बिहीबार १८:४५
Loading...