‘रोनाल्डो आधुनिक फुटबलका वास्तविक आइकन हुन्’

एजेन्सी, साउन २४
पोर्चुगलका कप्तानसमेत रहेका सुपरस्टार क्रिस्टियानो रोनाल्डो आधुनिक फुटबलका वास्तविक आइकन भएको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर जेसे लिंगार्डले बताएका छन् । इटालियन युभेन्टसबाट व्यावसायिक फुटबल खेलिरहेका रोनाल्डोलाई उनले बास्केटबलका महान् खेलाडी माइकल जोर्डनसँग तुलना गर्दै यसो भनेका हुन् ।

हालै ‘स्काई स्पोर्ट्स’सँग कुरा गर्दै लिंगार्डले रोनाल्डोको बास्केटबलका सर्वकालीन् महान् कहलिएका जोर्डनसँग तुलना गर्दै उनी फुटबलको जोर्डन भएको बताए । ‘रोनाल्डोले आफ्नो करिअरमा सबै उपलब्धि हाँसिल गरेका छन् । उनले फरक–फरक लिगबाट खेलेर थुप्रै उपाधि जितेका छन् । उनले देशबाट पनि पटक–पटक उपाधि जितेका छन्,’ लिंगार्डले भने, ‘म यसमा विश्वास गर्छु कि, उनी आधुनिक फुटबलका वास्तविक आइकन हुन् । उनी फुटबलका माइकल जोर्डन हुन् ।’

लिंगार्डले बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सीसँग रोनाल्डोको तुलना कहिल्यै नहुने बताए । ‘मेस्सी जसले कहिल्यै बार्सिलोना छाडेनन्, उनको करिअर कहिल्यै पनि कठिन र चुनौतीपूर्ण भएन । १५–२० वर्ष एकै क्लबबाट खेल्नु भनेको एकदमै सुरक्षित करिअर हो,’ लिंगार्डले भने, ‘तर, रोनाल्डोको करिअर उनको भन्दा ठिक बिपरीत छ । जसले युरोपमा सबैभन्दा कठिन लिगहरूमा आफूलाई साबित गरेका छन्, देशलाई आफ्नै कप्तानीमा दुईपटक च्याम्पियन बनाएका छन् ।’

लिंंगार्डले रोनाल्डो र मेस्सीको तुलना गर्दा कतिपयले ६ वटा बालोन डि‘ओर र ५ वटा बालोन डि‘ओरको हिसाब गर्ने गरेको भन्दै आफूलाई त्यो तर्क मूर्खतापूर्ण र हाँस्यास्पद लाग्ने बताए । ‘६ वटा बालोन डि‘ओर जितेका मेस्सी उत्कृष्ट हुन् भन्ने मानिसमा ठूलो अज्ञानता छ । किनभने, उनीहरूलाई रोनाल्डोले ५ वटा बालोन डि‘ओर र दुई अन्तर्राष्ट्रिय उपाधि जितेको कुरा थाहै छैन,’ लिंगार्डले भने, ‘व्यक्तिगत अवार्ड जित्नु उत्कृष्ट खेलाडीको मानक हो । तर, देशका लागि उपाधि जित्नु जहिल्यै पनि त्योभन्दा हजारौं गुणा मूल्यवान् हुन्छ ।’

लिंगार्डले जतिबेला युवा रोनाल्डो युनाइटेडबाट खेल्दै थिए, त्यो बेला आफू युनाइटेडको एकेडेमीमा हुर्किरहेको कुरा पनि सझिए । तर, लिंगार्डले आजसम्म रोनाल्डोसँग एकै जर्सीमा कहिल्यै खेलेनन् । बरु, एकअर्काविरुद्ध भिडेका छन् । ‘उनीसँगै खेल्ने मेरो सपना आजसम्म पनि सपनै छ । बरु, उनीविरुद्ध केहीपटक खेलेको छु,’ लिंगार्डले भने, ‘उनी प्रिमियर लिगका ठूला मानक खेलाडी हुन् ।’

लिंगार्डले रोनाल्डोले आधुनिक फुटबलको युवा पुस्तालाई प्रेरित गरिरहेको बताए । ‘रोनाल्डो यस्ता खेलाडी हुन्, जसलाई यो पुस्ताका हरेक युवा खेलाडी आदर्श मानेर खेलिरहेछन्, यो नै उनको महानता हो,’ लिंगार्डले थपे ।

प्रकाशित मिति १४ श्रावण २०७७, बुधबार २०:४६
Loading...