रोनाल्डोद्वारा नवौं सिरी ए उपाधि फ्यानहरूका नाममा समर्पण

एजेन्सी, साउन १३
इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफूहरूले जितेको सिरी ए उपाधि आफ्ना फ्यानहरूलाई समर्पण गरेका छन् । २ दिनअघि युभेन्टसले जारी सिजनको उपाधि जितेपछि रोनाल्डोले सामाजिक सन्जालमार्फत् एक सन्देश लेख्दै उपाधि र त्यसको खुसीयाली फ्यानहरूलाई समर्पण गरेका हुन् ।

२ दिनअघि युभेन्टसले घरेलु मैदानमा साम्पडोरियालाई २–० ले हराउँदै लगातार नवौंपटक उपाधि जितेको थियो । सो खेलमा रोनाल्डोले १ शानदार गोल गरेका थिए भने १ पेनाल्टी मिस गरेका थिए । सोही खेलबाट रोनाल्डोले यो सिजनको ३१औं लिग गोल पनि गरेका थिए ।

खेलपछि युभेन्टसले ड्रेसिङ रुममा उपाधिको खुसीयाली मनाएको थियो । त्यसपछि रोनाल्डोले एक सन्देश लेख्दै आफूहरूले जितेको उपाधि सम्पूर्ण युभेन्टसका फ्यान तथा कोरोना भाइरस महामारीबाट गुज्रिरहेका मानिसप्रति समर्पण गरेका छन् । उनले लेखेका छन्–

‘लगातार दोस्रो सिजन उपाधि जित्दा खुसी छु । ठूलो क्लबको इतिहासलाई अझै परिस्कृत गर्न अवसर पाएको छु । यो उपाधि फ्यानहरूलाई समर्पण गर्न चाहन्छु । खास गरी कोरोनाको महामारीबाट प्रभावित समर्थकहरूलाई यो उपाधि समर्पण छ । यो स्थिति निकै कठिन छ । यस्तो बेला तपाईंहरूको साहस र लगाव नै हाम्रा लागि पनि ऊर्जा बनेको थियो ।’

प्रकाशित मिति १३ श्रावण २०७७, मंगलवार १०:३४
Loading...