युभेन्टसले सिरी ए र च्याम्पियन्स लिग दुवै जितेर देखाउँछ : डिबाला

एजेन्सी, असार १७
इटालियन क्लब युभेन्टसका युवा स्टार पाउलो डिबालाले आफूहरू च्याम्पियन्स लिगको उपाधि होडमा रहेको बताएका छन् । गत राति सिरी ए लिगमा जेनोआलाई हराएपछि मिडियासँग कुरा गर्दै अर्जेन्टिनी फरवार्ड डिबालाले आफूहरू कोपा इटालिया हारेपछि सम्हालिँदै अघि बढिरहेको बताए । गत राति जनोओलाई १–३ ले हराउनेक्रममा युभेन्टसका लागि डिबालाले १ गोल गरेका थिए भने १ गोलमा असिस्ट पनि गरेका थिए ।

खेलपछि टोलीलाई जिताउन गोल र असिस्ट गर्न पाउँदा खुसी लागेको उनले बताए । ‘हामीले आज राम्रो खेल्यौं । टिमलाई जिताउन गोल र असिस्ट गर्न पाउँदा म खुसी छु,’ डिबालाले भने, ‘हामी यो जितपछि उपाधि होडमा सहज अवस्थामा आइपुगेका छौं ।’

च्याम्पियन्स लिगबारे सोधिएको प्रश्नमा डिबालाले आफूहरू अन्तिम १६ को पहिलो लेग हारे पनि दोस्रो लेगमा कमब्याक गरेर अगाडि बढ्ने बताए । ‘लियोनसँग पहिलो लेग हामीले गुमाएका छौं । तर, जब हामी घरमा दोस्रो लेग खेल्छौं, त्यहाँ राम्रो कमब्याक हुनेछ । यसमा हामी ढुक्क छौं,’ डिबालाले भने, ‘हामी यो सिजन दुई घरेलु फाइनल हारे पनि ठूला उपाधि जित्न चाहन्छौं । च्याम्पियन्स लिग यसपटक हाम्रो प्रमुख लक्ष्य हो ।’

प्रकाशित मिति १७ असार २०७७, बुधबार २१:५१
Loading...