रोनाल्डोको त्यो बाइसाइकल गोल मैले देखेमध्ये सबैभन्दा उत्कृष्ट : एमबाप्पे

एजेन्सी, असार १७
फ्रेन्च क्लब पिएसजीका युवा स्टार केलियन एमबाप्पेले आफ्ना ‘आइडल’ पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले दुई वर्षअघि गरेको एक गोलको तारिफ गरेका छन् । विश्वकपविजेता उनले रोनाल्डोले रियल मड्रिडमा छँदा च्याम्पियन्स लिगमा गरेको चर्चित बाइसाइकल किक गोललाई आफ्नो जीवनमा देखेमध्येकै सर्वोत्कृष्ट गोल भनेका छन् ।

च्याम्पियन्स लिगमा २०१७–१८ सिजन अन्तर्गत रियल मड्रिडले अन्तिम आठ (क्वार्टरफाइनल) मा इटालियन क्लब युभेन्टसविरुद्ध खेलेको थियो । २०१८ को अप्रिल ४ मा युभेन्टसको घरेलु मैदान एलिनाज रंगशालामा भएको सो खेलमा रियलले ०–३ को शानदार जित निकालेको थियो ।

सो खेल दौरान रोनाल्डोले बक्सभित्र पाएको हवाई पासमा शानदार बाइसाइकल किक हान्दै बललाई जाली चुमाएका थिए । ड्यानी कार्भाहालले दिएको पासमा रोनाल्डोले निकै उचाइमा उफ्रिएर हानेको प्रहारमा युभेन्टसका गोलकिपर जियानलुइजी बुफोनले भेउ नै पाएनन् । ३३ वर्षको उमेरमा उनले गरेको सो गोल च्याम्पियन्स लिग इतिहासमा उत्कृष्टमध्येको गोलमा पर्छ । रोनाल्डोको सो गोलले त्यस सिजन ‘गोल अफ् द सिजन’को अवार्डसमेत जितेको थियो ।

हालै इन्स्टाग्राम लाइभमा कुरा गर्दै पिएसजीका स्टार फरवार्ड एमबाप्पेले रोनाल्डोले युभेन्टसका बुफोनविरुद्ध गरेको गोल दुर्लभ र एक लिजेन्डरी गोल रहेको बताए । उनले रोनाल्डोको गोलको तारिफ गर्दै भनेका छन्–

‘युभेन्टसका बुफोनविरुद्ध क्रिस्टियानो रोनाल्डोले गरेको बाइसाइकल गोल मैले आजसम्म देखेमध्येकै उत्कृष्ट गोल हो । त्यो एक लिजेन्डरी गोल थियो । त्यो गोलको फुटेज म पटक–पटक हेर्ने गर्छु । फुटबलमा त्यस्तो गोल थुप्रै वर्षमा एकपटक हेर्न पाइन्छ ।’

प्रकाशित मिति १७ असार २०७७, बुधबार ११:२२
Loading...