‘युभेन्टसले सिरी ए र च्याम्पियन्स लिग दुवै जित्न सक्छ’

एजेन्सी, साउन ५
जारी सिजन मात्रै दुई घरेलु प्रतियोगिता सुपरकोपा इटालिया र कोपा इटालियाको फाइनलमा पराजित भएको युभेन्टसले युरोपियन च्याम्पियन्स लिग र घरेलु लिग सिरी ए दुवै जित्ने दाबी टोलीका युवा खोडी माथिस डि लिग्टले गरेका छन् । डच डिफेन्डर उनले युभेन्टस क्रमशः सिजन निर्णायक मोडतर्फ अघि बढ्दै गर्दा प्रदर्शनको स्तरमा सुधार गर्दै गइरहेको बताए ।

इटालियन पत्रिका ‘टुट्टो स्पोर्ट्स’सँग कुरा गर्दै उनले यसअघि सुपकोपा र कोपा इटालिया हार्नु अनपेक्षित नतिजा भए पनि युभेन्टस बाँकी दुई ठूला प्रतियोगिता जित्न तयार रहेको बताए । ‘हामीले ६ महिनाको बीचमा दुई घरेलु प्रतियोगिताको फाइनलमा हार भोग्यौं, यो एकदमै अनपेक्षित नतिजा थियो,’ डि लिग्टले भने, ‘तर, हामी अझै पनि दुई ठूला प्रतियोगिता जितेर सिजन पूरा गर्न सक्छौं । हाम्रो ध्यान अहिले पूर्ण रूपमा यसमै छ ।’

डि लिग्टले सिरी ए र च्याम्पियन्स लिग दुवै जित्न युभेन्टस सक्षम टोली रहेको पनि बताए । ‘हामी सिरी ए लिगमा शीर्ष स्थानमा छौं । हामी अन्तिम खेलसम्म पुग्दा राम्रो अग्रतासहित च्याम्पियन बन्नेमा ढुक्क छौं,’ उलने भने, ‘हाम्रो पहिलो प्राथमिकतामा च्याम्पियन्स लिग छ । हामी अन्तिम १६ बाट अघि बढेर उपाधिसम्म पुग्न उत्कृष्ट प्रदर्शन गर्नेछौं । त्यसका लागि हामी सबथोक दिन तयार छौं ।’

डि लिग्टले च्याम्पियन्स लिग सुचारु हुनुभन्दा अघि घरेलु लिग सकिने भएकाले अहिले लिग र पछि च्याम्पियन्स लिगमा ध्यान लगाउन सहज हुने बताए । ‘पहिलाजस्तो अहिलेकै समयमा दुई वा तीन प्रतियोगितामा ध्यान दिनुनपर्ने अवस्था छैन । किनभने, घरेलु लिग सकिएपछि मात्रै च्याम्पियन्स लिग हुने भएकाले यी दुवै समयमा हामी सम्पूर्ण ध्यान एक प्रतियोगितामा लगाएर खेल्न पाउँछौं, यसो गर्दा सबै टिमका लागि यो कम दबाबपूर्ण हुन सक्छ,’ डि लिग्टले भने ।

युभेन्टस हाल सिरी ए लिगमा हाल शीर्ष स्थानमा छ । यता, च्याम्पियन्स लिगमा ऊ अन्तिम १६ को पहिलो लेगको खेलमा फ्रेन्च क्लब लियोनसँग १–० ले पराजित भएको छ । उसले अगस्ट ८ तारिखमा दोस्रो लेगको खेल आफ्नो घरमा खेल्नेछ ।

प्रकाशित मिति ५ श्रावण २०७७, सोमबार ०५:४८
Loading...