३५ वर्षीय रोनाल्डोका यो सिजनका यी ६ अपत्यारिला तथ्यांक

काठमाडौं, असार १३
इटालियन क्लब युभेन्टसका प्रमुख फरवार्ड क्रिस्टियानो रोनाल्डोले व्यक्तिगत हिसाबमा जारी सिजनलाई निकै राम्रो बनाइरहेका छन् । युभेन्टस यसै सिजनै सिजन मात्र दुई घरेलु प्रतियोगिताको फाइनलमा पराजित भएपनि रोनाल्डोको व्यक्तिगत तथ्यांक भने निकै राम्रो छ । गत राति युभेन्टसले घरेलु लिगमा आफ्नो घरमा लेकेलाई ४–० ले हरायो । सो खेलमा रोनाल्डोले १ गोल पेनाल्टीमार्फत् गर्नुका साथै २ गोलमा असिस्ट पनि गरे ।

सो जितपछि युभेन्टस लिगमा स्पष्ट ७ अंकले अगाडि छ । गत रातिको जितमा रोनाल्डोले दोस्रो हाफमा पेनाल्टीमार्फत् गोल गर्दा पाउलो डिबाला र गोन्जालो हिगुइनलाई असिस्ट दिएका थिए । हाल ३५ वर्ष पुगेका रोनाल्डोले बढ्दो उमेरमा पनि टिमलाई नेतृत्व दिन निकै बलियो प्रदर्शन गरिरहेका छन् । जारी सिजन रोनाल्डोका नाममा रहेका केही शानदार तथ्यांक यहाँ प्रस्तुत गरिएको छ ः

(१) रोनाल्डोले सिरी ए लिगका पछिल्ला १४ खेलमा १८ गोल गर्दै ४ गोलमा असिस्ट गरेका छन् । जुन सिरी ए मात्र नभएर युरोपियन टप–५ लिगमै सबैभन्दा बढी हो । उनी १४ खेलबाट सोझै २२ गोलमा सहभागी भएका छन् ।

(२) रोनाल्डो जारी सिजन युरोपियन टप–५ लिगमा सबैभन्दा धेरैपटक ‘म्यान अफ् द म्याच अवार्ड’ जित्ने खेलाडी हुन् । गत रातिको खेलमा सो अवार्ड जितेसँगै उनले यो सिजन युरोपका टप–५ लिगमा सबैभन्दा धेरै कूल १४ पटक म्यान अफ् द म्याच जितेका छन् । उनले २४ खेल खेल्दा १४ खेलमा उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् ।

(३) जारी सिजन रोनाल्डोले क्लब युभेन्टस र पोर्चुगलका लागि गरी हालसम्म कूल ३८ गोल गर्दै ९ गोलमा असिस्ट गरेका छन् । सोक्रममा उनले ४२ खेल खेलेका छन् । समग्रमा उनी ४२ खेलबाट सोझै ४७ गोलमा सहभागी छन् । ३५ वर्षका खेलाडीका लागि यो निकै शानदार तथ्यांक हो ।

(४) वर्ष २०२० को मात्रै कुरा गर्दा रोनाल्डोले हालसम्म १५ खेल खेलेका छन् । सोक्रममा उनले १५ गोल गर्दै ६ असिस्ट प्रदान गरेका छन्, जुन अन्य कुनै पनि खेलाडीको भन्दा बढी हो ।

(५) जारी सिजन रोनाल्डोले घरेलु लिगमा ८ पटक पेनाल्टी प्रहार गरेका छन् । जसमा उनले ८ वटै पेनाल्टीमा गोल गर्न सफल भएका छन् ।

(६) गत राति लेकेविरुद्ध गोल गरेसँगै रोनाल्डोले आफ्नो करिअरमा विभिन्न ११४ टिमविरुद्ध गोल गर्न सफल भएका छन्, जुन आधुनिक फुटबलमा अन्य कुनै पनि खेलाडीको भन्दा धेरै हो ।

प्रकाशित मिति १३ असार २०७७, शनिबार १२:३३
Loading...