रोनाल्डोको प्रेरणाामा युभेन्टसको शानदार जित : ७ अंकले अघि

काठमाडौं, असार १३
क्रिस्टियानो रोनाल्डोको प्रेरणामा इटालियन क्लब युभेन्टसले घरेलु लिगमा शानदार जित निकालेको छ । गत राति भएको खेलमा युभेन्टसले आफ्नो घरेलु मैदानमा पाहुना टोली लेकेमाथि ४–० को जित निकाल्न सफल भयो । युभेन्टसको सो जितमा रोनाल्डोले १ गोल गर्नुका साथै २ गोलमा असिस्ट प्रदान गरे ।

लिगको १८औं स्थानको टोली लेके एलिनाज रंगशालामा खेलको ३१औं मिनेटमै १० खेलाडीमा झरेको थियो । डिफेन्डर फाबियो लुचिओनीले युभेन्टसका रोड्रिगो बेन्टाकुरमाथि खराब ट्याकल गरेपछि रेफ्रीले उनलाई सोझै रातो कार्ड दिएर मैदानबाट निकालेका थिए ।

पहिलो हाफमा युभेन्टसले गोल गर्न सकेन । रोनाल्डो र फेडरिको बर्नान्डेची सहज अवसरमा गोल गर्न चुक्दा पहिलो हाफमा ०–० मा सकिएको थियो । तर, दोस्रो हाफमा युभेन्टसले शानदार प्रदर्शन गर्दै ४ गोल हान्यो । जहाँ खेलको ५३औं मिनेटमा पहिलो गोल पाउलो डिबालाले बुलेट सटमा सुन्दर गोल गरे । सो गोलमा रोनाल्डोले असिस्ट दिएका थिए ।

त्यसपछि ६२औं मिनेटमा युभेन्टसले पेनाल्टी पायो । बक्समा लेकेका खेलाडीले रोनाल्डोमाथि फउल गरेर लडाएपछि पाएको पेनाल्टीमा रोनाल्डोले कुनै गल्ती नगरी गोल गरेर अग्रता २–० बनाए । त्यसपछि खेलको ८३औं मिनेटमा गोन्जालो हिगुइनले निकै सुन्दर गोल गरे । बक्समा रोनाल्डोले दिएको सुन्दर ब्याक हिल पास सदुपयोग गर्दै हिगुइनले शानदर गोल गरे । त्यसको २ मिनेटमै डिफेन्डर माथिस डि लिग्टले डग्लस कोस्टाले अर्को गोल गरेपछि खेल युभेन्टसले ४–० ले जित्यो ।

अब यो जितसँगै युभेन्टसले २८ खेलबाट ६९ अंक जोडेको छ । ऊ दोस्रो स्थानको लाजियोभन्दा एक खेल बढी खेलेको अवस्थामा ७ अंकले अघि रहेको छ । लाजियोले आजै राति आफ्नो २८औं खेल खेल्दै छ । यता, युभेन्टससँग पराजित लेके भने २५ अंकसहित १८औं स्थानमा यथावत रहेको छ ।

प्रकाशित मिति १३ असार २०७७, शनिबार ०८:४२
Loading...