फर्कियो च्याम्पियन्स लिग : युभेन्टस र लियोनको खेल हुने मिति तोकियो

काठमाडौं, असार १२
युरोपियन च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्टस र फ्रेन्च क्लब लियोनबीच हुने अन्तिम १६ को दोस्रो लेगको खेलको मिति तय भएको छ । कोरोना भाइरसका कारण स्थगित सिजन फर्काउने योजनाअनुसार युइएफएले हालै जारी गरेको नयाँ खेल तालिकाअनुसार युभेन्टस र लियोनको खेल प्रतियोगिता सुचारु हुँदाखेरि पहिलो दिन नै हुने भएको छ ।

युइएफएले सिजनका बाँकी खेल आगामी अगस्ट ७ तारिखबाट सुचारु गर्ने गरी घोषणा गरेको छ । जसमा युभेन्टस र लियोनको खेल पहिलो दिन नै हुने भएको छ । युरोपियन समयअनुसार सो खेल अगस्ट ७ मा हुने भए पनि नेपाली समयअनुसार अगस्ट ८ तारिख बिहानको समयमा हुनेछ ।

यसअघि लियोनको घरमा भएको पहिलो लेगमा युभेन्टस ०–१ ले पराजित भएको छ । अब दोस्रो लेग युभेन्टसको आफ्नो घरमा हुनेछ । आफ्नो घरमा युभेन्टसलाई पहिलो लेगको नतिजा उल्टाउनुपर्ने दबाब हुनेछ । तर, लियोनलाई भने ०–० मा युभेन्टसलाई रोके पनि अन्तिम आठमा जान काफी हुनेछ ।

प्रतियोगितामा हाल अन्तिम १६ का चार खेल बाँकी छन् । जसमा युभेन्टस भर्सेस लियोन, म्यानचेस्टर सिटी भर्सेस रियल मड्रिड, बार्यन म्युनिख भर्सेस चेल्सी, बार्सिलोना भर्सेस नापोलीको दोस्रो लेगका खेल बाँकी छन् ।

युइएफएले अन्तिम १६ का बाँकी खेल सकिएपछि अर्को चरणका खेलको तालिका घोषणा गर्नेछ । अन्तिम आठ र अन्तिम चारमा भने यसपटक सिंगल लेग मात्रै हुनेछन् । अन्तिम आठदेखिका सबै खेल हुने स्थान सारेर पोर्चुगलको लिस्बनलाई तोकिएको छ । फाइनल खेल अगस्ट २३ का लागि तय भएको छ । त्यसको २ दिनअघि युरोपा लिगको फाइनल खेल हुनेछ । यसअघि च्याम्पियन्स लिगको फाइनल टर्कीमा हुने तय थियो ।

प्रकाशित मिति १२ असार २०७७, शुक्रबार ११:२१
Loading...