सिटीका घाइते अगुएरो बार्सिलोना जाँदै

एजेन्सी, असार ११
इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्टार फरवार्ड सर्जियो अगुएरो उपचारका लागि स्पेनको बार्सिलोना जाने भएका छन् । प्रिमियर लिगको खेल दौरान अघिल्लो दिन चोट बोकेपछि उनी उपचारका लागि बार्सिलोना जाने भएका हुन् ।

अर्जेन्टिनी फरवार्ड अगुएरोको चोटको बिस्तृत विवरण आएपछि उनको उपचार स्पेनको बार्सिलोना सहरमा हुने भएको हो । अगुएरो सोमबार प्रिमियर लिगमा बर्नलीविरुद्ध खेल्नेक्रममा घाइते भएका थिए । सिटीले सो खेल ५–० ले जितेको थियो ।

क्लब सिटीका अनुसार अगुएरोको घुँडामा गम्भीर चोट परेको छ । क्लबका विशेष डाक्टरको सुझावमा उनी उपचारका लागि स्पेन जाने भएका हुन् । घाइते भएपछि अगुएरोले आफू चोटग्रस्त भएको जानकारी दिँदै निको भएर मैदान फर्किने बताएका छन् ।

अगुएरोको घुँडाको अप्रेसन हुने भएको छ । पहिल्यैबाट घुँडाको चोट रहेकाले उनको यसपटकको चोट गम्भीर बनेको छ । अप्रेसन गर्नुपर्ने भएपछि अगुएरोले अब यो सिजनका बाँकी सबै खेल गुमाउने भएका छन् । अब सिटीका प्रशिक्षक पेप ग्वार्डिओलामाथि च्याम्पियन्स लिगमा अगुएरोबिनाकै टोली बनाउनुपर्ने चुनौती बढेको छ ।

प्रकाशित मिति ११ असार २०७७, बिहीबार १९:०८
Loading...