फर्कियो च्याम्पियन्स लिग : बार्सिलोना र नापोलीको खेल हुने मिति तय

एजेन्सी, असार ३
युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोना र इटालियन नापोलीबीच अन्तिम १६ को दोस्रो लेगको खेल हुने मिति तय भएको छ । युइएफएले कोरोना भाइरसका कारण स्थगित सिजन सुचारु गर्न सार्वजनिक गरेको खेल तालिकाअनुसार बार्सिलोना र नापोलीको दोस्रो लेगको निर्णायक खेल अगस्ट ८ तारिखमा आयोजना हुनेछ ।

युइएफएले आज अन्तिम १६ का बाँकी चार खेलसहित अन्तिम आठ, अन्तिम चार र फाइनल खेल खेलाउने मिति, स्थान र नयाँ ढाँचा पनि तय गरेको छ । जसअनुसार बार्सिलोना र नापोलीको दोस्रो लेगको खेल अगस्ट ८ मा बार्सिलोनाको घरेलु मैदानमा हुनेछ । यसअघि नापोलीको घरमा भएको पहिलो लेग १–१ को बराबरीमा सकिएको छ । अब होम लेगमा उत्रिँदा बार्सिलोनासँग अवे गोलको फाइदा हुनेछ । जहाँ उसलाई अर्को चरण जान नापोलीलाई ०–० मै रोके पनि काफी हुनेछ ।

युइएफएले अन्तिम १६ का बाँकी चार खेल सकिएपछि अन्तिम आठ र अन्तिम चारका खेल सिंगल लेगमा मात्रै खेलाउने निर्णय गरेको छ । त्यस्तै, अन्तिम आठदेखि उताका सबै खेल पोर्चुगलको लिस्बनमा आयोजना गर्ने पनि निर्णय भएको छ । अगस्ट ७ बाट प्रतियोगिता सुचारु भएर फाइनल खेल अगस्ट २३ तारिखमा हुनेछ ।

प्रकाशित मिति ३ असार २०७७, बुधबार २२:३३
Loading...