हाम्रा लागि ला लिगाका ११ खेल सबै फाइनल खेल : जिदान

एजेन्सी, असार १
स्पेनिस फुटबल क्लब रियल मड्रिडका प्रमुख प्रशिक्षक जिनेदिन जिदानले ला लिगामा कमब्याक गरेर उपाधि जित्न आफूहरू तयार रहेको बताएका छन् । कोरोना भाइरसका कारण स्थगित ला लिगा तीन महिनापछि सुचा? भएपछि फ्रेन्च म्यानेजरले आफूहरूको योजनाबारे बताएका हुन् । आइतबार ला लिगामा कोरोनापछिको पहिलो खेल एइबारसँग खेल्नुअघि आयोजित पत्रकार सम्मलनमा बोल्दै जिदानले रियल मड्रिड लिग च्याम्पियन बन्न पूर्ण रूपमा तयार रहेको बताए ।

‘हामी ढिलै भए पनि फुटबलमा फर्किएका छौं, यो निकै राम्रो कुरा हो । अब हामी सिजनका अन्तिम चरणका खेल खेल्नेछौं । मेरा खेलाडीलाई सिजनको अन्तिममा खेल्नु भनेको के हो भनेर थाहा छ । सबैभन्दा महत्वपूर्ण विषय भनेको तयारी हो । र, हामीले राम्रो तयारी गरेका छौँ । हामी तयार छौं । र, यो तयारी मैदानबाट देखाउँछौं,’ जिदानले भने ।

आज राति ला लिगामा एइबारसँग खेल्नुअघि रियल बार्सिलोनाभन्दा ५ अंकले पछि परेर दोस्रो स्थानमा छ । यदि आफ्नो घरमा एइबारलाई हराए रियलले अंक दूरी पुनः २ मै झार्नेछ । बार्सिलोनाले गत राति मालोर्कालाई हराएर रियललाई ५ अंकले पछि छाडेको छ । ‘हामी अहिले बार्सिलोनाभन्दा पछाडि छौं । तर, हाम्रा लागि अझै ११ खेल छन्, यी खेल हाम्रा लागि ११ फाइनल हुन् । उपाधि जित्न हामी हरेक हिसाबले लड्नेछौं,’ जिदानले भने, ‘हामी बार्सिलोनालाई पछि पारेर अगाडि बढ्न तयार छौं ।’

रियलले यो सिजनका बाँकी लिग खेल आफ्नो प्रमुख रंगशाला सान्टियागो बर्नाबेउ खेल्नेछैन । त्यहाँ पुनर्निर्माण कार्य चलिरहेकाले उसले होम म्याचका आफ्ना सबै खेल युवा टोलीको मैदान अल्फ्रेडो डे स्टेफानोमा खेल्नेछ ।

प्रकाशित मिति ३२ जेष्ठ २०७७, आईतवार २१:४६
Loading...