फुटबल सुचारु हुँदा ला लिगा र च्याम्पियन्स लिग दुवै चुनौतीपूर्ण : पिके

एजेन्सी, जेठ १८
स्पेनिस बार्सिलोनाका उपकप्तान जेरार्ड पिकेले कोरोना भाइरसपछि फुटबल सुचारु हुँदा आफूहरूका लागि चुनौतीपूर्ण हुने बताएका छन् । उनले घरेलु लिग ला लिगा र च्याम्पियन्स लिग दुवै प्रतियोगिता निर्णायक चरणमा रहेकाले अबका दिन ज्यादै चुनौतीपूर्ण हुने उनले बताएका हुन् ।

‘क्याटलान रेडियो’ सँग कुरा गर्दै पिकेले फुटबल नखेलेको लामो समय भएको र कोरोनाका कारण खेलाडी मानसिक रूपमा कठिन अवस्थाबाट गुज्रिरहेकाले आगामी दिनमा खेल्न कठिन हुने बताए । पिकेले प्रतिस्पर्धााका हिसाबले बार्सिलोनाका लागि दुई ठूला प्रतियोगिता थप चुनौतीपूर्ण रहने पनि बताए ।

‘हामी ठूलो चुनौतीबाट गुज्रिएर फुटबलमा फर्किन लागिरहेका छौं । मलाई लाग्छ, यसबाट सबै प्रभावित छन् । असर सबैमा छ । हामी लामो समयदेखि मैदानबाहिर छौं भने हाम्रो मानसिकता पनि यसबाट प्रभावित छ,’ पिकेले भने, ‘जब हामी यो स्थितिबाट फुटबलमा फर्किन्छौं भने त्यहाँ कठिनाइ हुनेछन् । सामान्य हुनेछैनन् । यस्तो सबैलाई लाग्नेछ ।’

पिकेले बार्सिलोनाले यो सिजन ला लिगा र च्याम्पियन्स लिग जित्ने सम्भावनाबारे पनि धारणा राखे । पिकेले भनेका छन् कि, बार्सिलोनाका लागि घरेलु लिग र च्याम्पियन्स लिग दुवै चुनौतीपूर्ण तर जित्न सकिने प्रतियोगिता हुन् । ‘हालका लागि हामी ला लिगामा शीर्ष टोली हौं । त्यहाँ अन्तिम ११ खेल बाँकी छन् । र, हामी रियल मड्रिडभन्दा २ अंकले अघि छौं । यो राम्रो अवस्था हो,’ पिकेले भने, ‘तर, मड्रिडजस्तो टिमसँग २ अंकको अग्रता ठूलो कुरा होइन । यदि हामीले मात्रै एक खेल बराबरी खेल्यौं भने यो सकिन्छ । उनीहरूले यो सिजन राम्रो गरिरहेका छन् । क्लासिकोमा उनीहरूले हामीलाई हराइसकेका छन् । यसबाट पनि उनीहरू हामीभन्दा राम्रो अवस्थामा छन् भन्ने थाहा हुन्छ । अबका बाँकी हरेक खेल दुवै टिमका लागि फाइनलसरह हुनेछन् । यो कठिन हुनेवाला छ तर उपाधि जित्नेमा हामी ढुक्क छौं ।’

पिकेले च्याम्पियन्स लिगमा उपाधि होडमा खरो उत्रिन बार्सिलोनाले थुप्रै कुरा सुधार गर्नुपर्ने बताए । ‘यो एक ठूलो र कठिन प्रतियोगिता हो । हामी विश्वकै एक उत्कृष्ट टोली हौं । तर, नढाँटीभन्दा पछिल्ला वर्ष हामी युरोपमा राम्रोबाट खराब नतिजाको घेरामा लड्दै आएका छौं । यो हामीलाई सुहाउने कुरा होइन,’ पिकेले भने, ‘हामी यो सिजन पनि औसत अवस्थामा मात्रै छौं । यदि हामी च्याम्पियन्स लिगको उपाधि जित्न चाहन्छौं भने टोलीमा व्यापक सुधार ल्याउनुपर्छ । अहिले जे छ, त्यो कदापि पर्याप्त छैन ।’

पिकेले अघि थपे, ‘जब हामी च्याम्पियन्स लिग सुचारु गर्छौं, हामी नयाँ ढंगले आउने योजनामा छौं । हामी टोलीमा प्राविधिक रूपमा सुधार ल्याउन चाहन्छौं । सेटिन (प्रशिक्षक क्विके सेटिन) अहिले नयाँ छन् । उनको रणनीतिक योजना खेलाडीले बुझन् केही समय लाग्न सक्छ । मलाई आशा छ, हामी आगामी दिनमा राम्रो गर्नेछौं ।’

प्रकाशित मिति १८ जेष्ठ २०७७, आईतवार १०:१७
Loading...