रियल मड्रिडले ला लिगा र च्याम्पियन्स लिग दुवै उपाधि जित्छ : एसेन्सियो

एजेन्सी, जेठ १७
यसअघि चोटका कारण यो सिजनका सबै खेल गुमाउने अवस्थामा रहेका स्पेनिस क्लब रियल मड्रिडका युवा खेलाडी मार्को एसेन्सियो यतिबेला पूर्ण रूपमा फिट छन् । कोरोना भाइरसका कारण लामो समय फुटबल ठप्प भएर पुनः सुचारु हुन लाग्दा उनी मैदान फर्किन तम्तयार अवस्थामा छन् । ला लिगा जुन ११ तारिखबाट सुचारु हुने पक्का भएको छ भने च्याम्पियन्स लिग अगस्ट पहिलो साताबाट सुचारु हुने सम्भावना छ ।

ला लिगा फर्किने दिनको टुंगो लागेको अवस्थामा स्पेनिस युवा खेलाडी एसेन्सियोले रियल मड्रिडले यो सिजन घरेलु लिगसहित च्याम्पियन्स लिग पनि जित्ने दाबी गरेका छन् । ‘हामी ला लिगाको सिजन पूरा होस् भन्ने चाहन्छौं । मलाई लाग्छ, अबका बाँकी १२ खेल गर या मरको स्थिति खेलिनेछन् । हाम्रा लागि यी सबै खेल फाइनलसरह हुनेछन्,’ एसेन्सियोले भनेका छन् ।

एसेन्सियोले अब फुटबल हुँदा आफूले टिमलाई दुई ठूला उपाधि ला लिगा र च्याम्पियन्स लिग जिताउन योगदान दिने बताए । ‘म अब मैदान फर्किन शतप्रतिशत फिट छु । म लगातार अझै फिट हुन मेहनत गरिरहेको छु,’ एसेन्सियोले भने, ‘ला लिगा र च्याम्पियन्स लिग दुवै जित्न रियल मड्रिड तयार छ । म मेरो टिमलाई यी उपाधि जित्न शतप्रतिशत सघाउनेछु ।’

प्रकाशित मिति १७ जेष्ठ २०७७, शनिबार १३:२५
Loading...