चोटलाई बाई–बाई : केन र सन दुवै पूर्ण रूपमा फिट !

एजेन्सी, जेठ १४
इंग्लिस क्लब टोटनह्यामका दुईजना प्रमुख फरवार्ड चोटमुक्त भएका छन् । फरवार्डद्वय ह्यारी केन र सन हेङ–मिन चोटमुक्त हुँदै मैदान फर्किन तयार रहेको टोेलीका प्रशिक्षकले पुष्टि गरेका छन् । इंग्लिस खेलाडी केन र दक्षिण कोरियन खेलाडी सन लामो समयदेखि चोटसँग जुध्दै आएका थिए ।

टोटनह्यामका प्रशिक्षक जोसे मोउरिन्होले हालै एक अन्तर्वार्तामा कुरा गर्दै केन र सन दुवै चोटमुक्त भएको बताए । उनले आफ्ना दुईजना प्रमुख फरवार्ड मैदान फर्किने दिनको पर्खाइमा रहेको बताएका छन् । ‘उनीहरू दुवै अब फिट छन् । उनीहरूको रिकभरबाट म निकै खुसी छु । किनभने, उनीहरू नहुँदा टोलीलाई ठूलो चुनौती थियो,’ मोउरिन्होले भने ।

त्यस्तै, टोटनह्यामका अर्का खेलाडी स्टेभेन बेर्जविज्न पनि चोटमुक्त भएको मोउरिन्होले बताए । ‘उनीहरू ३ जना अब लिग सुचारु हुँदा शतप्रतिशत ठीक भएर टोलीमा सहभागी हुनेछन्,’ मोउरिन्होले थपे ।

केन गत जनवरीदेखि नै मैदानबाहिर छन् । उनको शल्यक्रिया भएको थियो । त्यस्तै, सन पनि चोट बोकेपछि टोलीबाहिर थिए । उनले हालै मात्रै आफ्नो देशमा तीन साता लामो सैन्य तालिम लिएर प्रशिक्षणमा फर्किसकेका छन् । इंग्लिस प्रिमियर लिग आगामी जुन दोस्रो साताबाट सुचारु गर्ने तयारी छ ।

जारी सिजन टोटनह्याम टप–४ मा पर्न संघर्षरत छ । ताजा अवस्थामा २९ खेल खेलिसक्दा टोटनह्याम ४१ अंक बनाएर आठौं स्थानमा छ । लिगमा अब अन्तिम ९ खेल बाँकी छन् ।

प्रकाशित मिति १४ जेष्ठ २०७७, बुधबार २१:४३
Loading...