‘बार्सिलोनाले मार्टिनेज किन्न सक्दैन’

एजेन्सी, जेठ १२
आगामी समर सिजनमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानका अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेज भित्र्याउन चाहेको छ । २२ वर्षका युवा फरवार्ड यतिबेला सरुवा बजारमा उपलब्ध महँगा खेलाडीमध्येमा पर्छन् । यसैक्रममा इन्टर मिलानकै फरवार्ड इभान जामोरानोले बार्सिलोनाले मार्टिनेज किन्न नसक्ने धारणा राखेका छन् ।

सरुवा बजारमा बढ्दो मार्केट भ्यालु, मार्टिनेजको भविष्यलगायत कारणले बार्सिलोनाले उनलाई सजिलै भित्र्याउन नसक्ने जामोरानोले बताएका हुन् । उनले मार्टिनेज मिलानमा खुसी रहेको तर बाहिर गएर उनले यहाँ जस्तो प्रमुख भूमिका र सम्मान नपाउने बताए ।

‘मिलानमा मार्टिनेज निकै खुसी छन् । किनभने, उनी टोलीका प्रमुख खेलाडी हुन् । र, सोहीअनुसार भूमिका पाएका छन् । क्लबले उनलाई सम्मानसाथ राखेको छ,’ जामोरानोले भने, ‘उनी भर्खर २२ वर्षका छन् । मलाई लाग्दैन, ११ वर्ष बढी उमेरका अन्य कोही खेलाडी भित्र्याउन क्लबले उनलाई बेच्नेछ ।’

यदि मार्टिनेजले बार्सिलोना जान मिलान छाडेको खण्डमा मिलानले भने फ्रैन्च क्लब पिएसजीका ३३ वर्षीय उरुग्वेन फरवार्ड इडिनस काभानी भित्र्याउन कसरत गरिरहेको चर्चा छ । उनले समर सिजनमा पिएसजी छाड्ने तयारी गरेका छन् ।

जामोरानोले आर्थिक समस्याका कारण पनि बार्सिलोनालाई माटिनेज भित्र्याउन कठिन पर्ने बताए । ‘बार्सिलोनासहित ठूला क्लब आर्थिक संकटमा फसेका छन् । यदि उनीहरूले मार्टिनेज चाहन्छन् भने १३० मिलियन (युरो) भन्दा बढी रकम खर्चनुपर्ने हुन्छ । मलाई लाग्दैन, बार्सिलोनाले आगामी समरमा यो निर्णय लिन्छ । किनभने, युइएफएले यसपटक ठूला अनुबनध गर्न रोक लगाउने बताइसकेको छ ।’

प्रकाशित मिति १२ जेष्ठ २०७७, सोमबार १९:४४
Loading...