काभानी भित्र्याउने दौडमा इन्टर मिलान सबैभन्दा अगाडि

एजेन्सी, जेठ ११
इटालीको फुटबल क्लब इन्टर मिलान फ्रेन्च क्लब पिएसजीका स्टार फरवार्ड इडिसन काभानी भित्र्याउन सबैभन्दा अगाडि देखिएको छ । लामो समयदेखि पिएसजीबाट खेलिरहेका काभानी आगामी समर सिजनमा क्लब छाड्ने तयारीमा छन् । टोलीमा समय पाउन छाडेपछि उनी पेरिसमा निकै निराश छन् । सन् २०१७ मा पिएसजीले केलियन एमबाप्पे र नेइमार अनुबन्ध गरेपछि काभानीको भविष्य संकटमा परेको थियो ।

पेरिसमा काभानीको खराब अवस्था बुझेको मिलानले समरमा उनलाई भित्र्याउन प्रस्ताव गर्ने तयारी गरेको खबर फ्रान्स र इटाली दुवै देशका मिडियाले छापेका छन् । हाल काभानी भित्र्याउन मिलानसहित स्पेनिस एथ्लेटिको मड्रिड, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसहित क्लबका इच्छुक देखिन्छन् ।

मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेको योजनामा काभानी रहेको बताइन्छ । हाल ३३ वर्ष पुगेका उनीसँग मिलानले ३ वर्षका लागि सम्झौता गर्न सक्छ । पछिल्लो समय खेल्न नपाए पनि काभानी क्लब तथा राष्ट्रिय टोलीका लागि पनि प्रमुख फरवार्ड हुन् ।

इंग्लिस प्रिमियर लिगको क्लब न्युक्यासल पनि काभानी भित्र्याउन इच्छुक छ । तर, काभानी च्याम्पियन्स नखेल्ने क्लबमा जाने पक्षमा छैनन् । जहाँ गए पनि उनले च्याम्पियन्स लिगको हिस्सेदार टोलीलाई मात्रै नयाँ गन्तव्य बनाउनेछन् ।

प्रकाशित मिति ११ जेष्ठ २०७७, आईतवार ११:३८
Loading...