नेइमार अनुबन्धबारे यसो भन्छन् बार्सिलोनाका प्रशिक्षक

एजेन्सी, जेठ १०
स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनले ब्राजिलियन फरवार्ड नेइमार बार्सिलोनामा भए आफू निकै खुसी हुने बताएका छन् । अघिल्ला प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई प्रतिस्थापन गर्दै केही समयअघि मात्रै टोली सम्हाल्न आइपुगेका सेटिनको सुरुआत क्याटलान टोलीमा सामान्य मात्रै देखिएको छ । तर, आगामी सिजन सफल बनाउन बार्सिलोना र सेटिन केही प्रमुख खेलाडी भित्र्याउने योजनामा छन् ।

यो सिजन बार्सिलोना अझै पनि घरेलु लिग ला लिगा र च्याम्पियन्स लिगको उपाधि दौडमै छ । तर, बार्सिलोनाका लागि यी दुवै उपाधि जित्न निकै कठिन छ । ऊ यसअघि नै कोपा डेल रे कपबाट आउट भइसकेको छ । आगामी सिजनका लागि बार्सिलोनाले भित्र्याउन सक्ने खेलाडीमा पूर्वखेलाडी नेइमार पनि एक प्रमुख पात्र हुन् ।

उनै नेइमारलाई यदि क्लबले समर सिजनमा अनुबन्ध गरे आफू निकै खुसी हुने र त्यो सिंगो टिमका लागि फाइदाजनक हुने सेटिनले बताएका छन् । ‘यदि मैले नेइमारलाई बार्सिलोनामा प्रशिक्षक दिन पाएँ भने यो मेरा लागि जति राम्रो हुनेछ, त्योभन्दा बढी टिमलाई फाइदा पुग्नेछ,’ सेटिनले भने ।

सेटिनले आफूहरू समर सिजनमा भित्र्याउन सकिने विश्वस्तरका खेलाडीको विषयमा छलफलमा रहेको र त्यसमध्ये नेइमार एक रहेको पनि सेटिनले बताए । ‘नयाँ सिजनमा हामी कम्तीमा २ जना विश्वस्तरका खेलाडी भित्र्याउने योजनामा छौं । र, नेइमार एक हुन सक्छन्,’ सेटिनले भने, ‘तर, कोरोना भाइरसका कारण क्लबको आर्थिक अवस्थाले समर योजना प्रभावित हुन सक्छ ।’

प्रकाशित मिति १० जेष्ठ २०७७, शनिबार २१:५७
Loading...