‘हल्यान्डले रियल मड्रिडमा रोनाल्डोको काम गर्न सक्छन्’

एजेन्सी, जेठ १०
गत जनवरी विन्डोमा जर्मन क्लब बोरुसिया डर्टमुन्डमा अनुबन्ध भएका नर्वेका युवा फरवार्ड अर्लिङ हल्यान्ड पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको स्तरमा पुग्ने क्षमता भएका खेलाडी हुन् । यस्तो भनाइ डर्टमुन्डकै जर्मन खेलाडी इम्री च्यानले बताएका छन् । एक अन्तर्वार्तामा कुरा गर्दै इम्रीले हल्यान्ड रोनाल्डोकै स्टाइलका नेता शैलीका खेलाडी भएको बताए ।

त्यत्ति मात्र हैन, इम्रीले स्पेनिस क्लब रियल मड्रिडलाई हल्यान्ड अनुबन्ध गर्न सुझाव पनि दिएका छन् । हल्यान्डसँग ठूला क्लबबाट खेल्ने क्षमता भएको र उनी भविष्यमा सफलमध्येका एक खेलाडी बन्ने प्रतिभा रहेको बताए । ‘हल्यान्ड जसको करिअर भर्खर सुरु भएको छ । तर, उनले धेरै चर्चा पाइसकेका छन् । किनभने, उनले आफूलाई साबित गरिरहेका छन् । उनको स्वभाव क्रिस्टियानो रोनाल्डोसँग मिल्छ । उनमा रोनाल्डोकै स्तरमा पुग्ने क्षमता र शैली छ,’ इम्रीले भने ।

इम्रीले यदि रियलले हल्यान्ड भित्र्याए उनी बेर्नाबेउमा दोस्रो रोनाल्डो बन्न सक्ने पनि बताए । ‘मेरो विचारमा उनी रियल मड्रिडलाई सुहाउने खेलाडी हुन् । उनले त्यहाँ रोनाल्डोको अभाव टार्न सक्छन् । रियल मड्रिडले उनलाई भित्र्याउनुपर्छ,’ इम्रीले भने ।

१९ वर्षका हल्यान्डले डर्टमुन्डका लागि बुन्डेसलिगामा मात्रै ९ खेलबाट १० गोल गरिसकेका छन् । उनले सबैखाले प्रतियोगितामा १२ खेलबाट १३ गोल गरिसकेका छन् । उनी बुन्डेसलिगा इतिहासमै सबैभन्दा थोरै समय खेलेर सबैभन्दा धेरै गोल गर्ने कीर्तिमानी खेलाडी हुन् । उनले डेब्यु खेलमा मात्रै २३ मिनेटको बीचमा ह्याट्रिक हानेर रेकर्ड बनाएका थिए ।

प्रकाशित मिति १० जेष्ठ २०७७, शनिबार ०९:३१
Loading...