बार्सिलोना र युभेन्टसबीच खेलाडी ‘साटफेर डिल’मा नयाँ मोड

एजेन्सी, जेठ ९
इटालियन क्लब युभेन्टस र स्पेनिस क्लब बार्सिलोनाबीच आगामी समर सिजनमा खेलाडी साटफेर डिल तय भएको रिपोर्ट यसअघि बाहिरियो । जसमा बार्सिलोनाले युभेन्टसबाट मिडफिल्ड मिरेलाम पिजानिकसहित अर्का एक खेलाडी र २५ मिलियन युरो रकम लिएर आफ्ना युवा डिफेन्डर नेल्सन सेमेडो दिन मोटामोटी सहमति बनेको चर्चा थियो ।

तर, इटालियन मिडियाका ताजा रिपोर्टअनुसार युभेन्टस अझै पनि बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर अर्थुर मेलोसँग मात्रै आफ्ना खेलाडी पिजानिक साट्ने अवस्थामा छ । उसले आफ्ना प्रमुख खेलाडी पिजानिक गुमाउँदा बार्सिलोनाका एक प्रमुख खेलाडी नै प्राप्त गर्न चाहेको छ ।

ब्राजिलका अर्थुर र बोस्निया एन्ड हर्ज गोभिनाका पिजानिक दुवै मिडफिल्ड पोजिसनबाट खेल्छन् । र, दुवै आ–आफ्नो टोलीका प्रमुख खेलाडी हुन् । त्यसमा पनि पिजानिक भने इटालियन क्लबका सबैभन्दा प्रमुख खेलाडीमध्येमा पर्छन् । यता, अर्थुर बार्सिलोनाको टोलीमा महत्त्वपर्ण हिस्सा भए पनि उनी अन्य खेलाडीसँग समय बाँडेर खेलिरहेका छन् ।

बार्सिलोनाले टोलीमा अनुभवी मिडफिल्डर भित्र्याएर टिम बलियो बनाउन पिजानिकलाई चाहेको छ । उसले सन् २०१६ बाटै यी खेलाडीमाथि आँखा लगाइरहेको छ । यता, युभेन्टस पनि यदि बार्सिलोनाका अर्थुरजस्ता प्ले मेकर युवा खेलाडी पाए ३० वर्षीय पिजानिक छाड्न तयार देखिन्छ । अर्थुर हाल २३ वर्षका छन् ।

प्रकाशित मिति ९ जेष्ठ २०७७, शुक्रबार ०९:३६
Loading...