कोरोना छिचोल्दै ट्रेनिङ थालेका क्लोप भन्छन्– ‘पहिलो दिन स्कुल गएजस्तै लाग्यो’

एजेन्सी, जेठ ८
कोरोना भाइरस महामारी छिचोल्दै दुई महिनाभन्दा बढी समयपछि खेलाडीसँग प्रशिक्षण थालेका इंग्लिस क्लब लिभरपुलका प्रमुख प्रशिक्षक जोर्गेन क्लोपले निकै मिठो अभिव्यक्ति दिएका छन् । उनले लामो समयपछि क्लब र प्रशिक्षण क्याम्प पुगेर खेलाडीसँग भेटघाट गर्दा ‘पहिलो दिन स्कुल गएजस्तै’ अनुभूत भएको प्रतिक्रिया दिएका छन् ।

लिभरपुलले बुधबारबाट आफ्नो ट्रेनिङ सेन्टर मिलउडमा प्रशिक्षण सुरु गरेको छ । टोलीमा प्रशिक्षक क्लोपसँगै सिनियर टोलीका सबैजसो खेलाडी सामेल छन् । प्रिमियर लिगमा दुई ९ सातापछि खेलाडीले प्रशिक्षण थालेका छन् । लामो समय फुटबल ठप्प भएको र मानिस महामारीसँग जुधिरहेका बेला फुटबल गतिविधि सुरु हुँदा क्लोपले भने मिठो अनुभूति गरेछन् ।

‘कोरोनापछि पहिलो दिनको प्रशिणमा जाने दिन म अरू दिनभन्दा केही चाँडो उठें । मलाई लाग्यो, आज मेरो पहिलो दिन हो । मलाई पहिलो दिन स्कुल गएजस्तै लाग्यो । त्यो दिन आजभन्दा ४६ वर्षअघिको थियो । तर, आज मलाई यस्तै लाग्यो,’ क्लबको मिडियासँग कुरा गर्दै जर्मन प्रशिक्षकले भने ।

क्लोपले कठिन दिन छिचोल्दै खेलाडीसँग मैदानमा पुनः पुग्दा आफूसहित सबै खुसी रहेको पनि बताए । ‘म मात्रै हैन, आजको दिनका लागि मेरा खेलाडी र कर्मचारी सबै खुसी छौं । किनभने, हामी कठिन दिन छिचोल्दै पुनः फुटबलमा फर्किंदै छौं ।’

लिभपुल जारी सिजन घरेलु लिगको उपाधि जित्नबाट मात्रै ६ अंकले पछि छ । उसले अब सुरुआती दुई खेल मात्रै जितेको खण्डमा ऊ ३० वर्षपछि घरेलु लिगको च्याम्पियन बन्नेछ ।

प्रकाशित मिति ८ जेष्ठ २०७७, बिहीबार २१:१३
Loading...