इटालियन लिग ‘सिरी ए’ अगस्ट २० सम्ममा सक्ने तयारी

एजेन्सी, जेठ ८
कोरोना भाइरसका कारण स्थगित इटालीको शीर्ष फुटबल लिग सिरी ए सुचारु हुने मिति तय भएको छ । इटालियन मिडियाका अनुसार सिरी ए लिगले स्थगित सिजन बढीमा अगस्ट २० तारिखसम्मा सक्ने गरी आन्तरिक तयारी गरेको छ । यदि अवस्था थप खराब नबने उसले सोही मितिलाई ख्याल गरेर लिग सुचारु गर्ने मिति सार्वजनिक गर्नेछ ।

इटालीका शीर्ष तीन डिभिजनका लिगलाई एकैपटक सुरु गरेर एकैपटक अन्त्य गर्ने तयारी छ । हाल इटालीमा जारी गरेको लकडाउन जुन १४ तारिखसम्मका लागि हो । त्यहाँका शीर्ष क्लबले हाल सानो–सानो समूहमा प्रशिक्षण थालिसकेका छन् । तर, लिग सुचारु हुने अफिसियल मिति भने लिगले घोषणा गरेको छैन ।

यता, इटालियन फुटबल संघले लिगको नयाँ सिजन २०२०–२१ भने सेप्टेम्बर १ तारिखबाटै सुरु गर्ने निर्णय औपचारिक रूपमै गरिसकेको छ । जारी सिजन ढिला भए पनि बिदाको समय घटाएर नयाँ सिजन समयमै सुरु गर्न संघ तयार छ । हाल सिरी ए लिगमा युभेन्टस लाजियोभन्दा मात्रै १ अंकले अघि रहेर शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति ८ जेष्ठ २०७७, बिहीबार ०८:०६
Loading...