‘युभेन्टसलाई च्याम्पियन्स लिग जिताउन रोनाल्डो र डिबालाको तालमेल कायमै रहनुपर्छ’

एजेन्सी, जेठ ६
इटालियन क्लब युभेन्टसमा जारी सिजन फरवार्डद्वय क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाको जोडी शानदार जमिरहेको छ । कोरोना भाइरसका कारण फुटबल स्थगित हुनुअघिसम्म टोलीको जित र गोलमा रोनाल्डो–डिबालाले उत्कृष्ट तालमेल देखाउँदै ठूलो योगदान दिँदै आएका थिए । यो सिजन दुवै खेलाडीले एकाअर्काको गोलमा सहयोग गरिरहेका छन् भने टोलीका धेरै गोलमा यी दुवै खेलाडीको सहभागिता बढी छ ।

यसैक्रममा, युभेन्टसका लिजेन्ड खेलाडी पिर्लोले जारी सिजन क्लबलाई उपाधि जिताउन आक्रमण लाइनमा रोनाल्डो र डिबालाको तालमेल कायम रहनु अनिआवश्यक रहेको बताएका छन् । उनले रोनाल्डो र डिबाला यो सिजन उत्कृष्ट लयमा रहेको र दुईको साझेदारी निकै मजबुत बनिरहेको बताउँदै पिर्लोले उनीहरूको साझेदारी निर्णायक हुने बताए ।

‘यो सिजन क्रिस्टियानो र पाउलोले निकै राम्रो गरिरहेका छन् । टोलीका धेरै गोलमा उनीहरूको सहभागिता छ । र, उनीहरूको जोडी निकै प्रभावकारी मैले देखिरहेको छु । उनीहरूको गोल र असिस्ट संख्याले पनि यो देखाउँछ,’ पिर्लोले भने, ‘मलाई लाग्छ, यो सिजन उनीहरूको तालमेल फलदायी हुनेछ । र, यो लय सिजनको अन्तिम खेलसम्म कायम रहनुपर्छ ।’

पिर्लोले युभेन्टस यो सिजन घरेलु लिग र च्याम्पियन्स लिग दुवैको दाबेदार रहेको र त्यसका लागि रोनाल्डो निर्णायक खेलाडी हुने बताए । ‘युभेन्टसले यसपटक सिरी ए र च्याम्पियन्स लिग दुवै जित्ने सम्भावना मैले देखेको छु । टिम त्यसका लागि तयार छ,’ पिर्लोले भने, ‘रोनाल्डोले यस सिजन यहाँ विशेष बनाउँदैछन्, युभेन्टसका लागि च्याम्पियन्स लिग जिताउन उनका लागि यो सबैभन्दा सही समय हो । मलाई विश्वास छ, यसपटक उनले यो सम्भव बनाउनेछन् ।’

प्रकाशित मिति ७ जेष्ठ २०७७, बुधबार ०९:२६
Loading...