हाजार्डको बोली – ‘सिजन पूरा हुँदा हामी ला लिगा च्याम्पियन बन्छौं’

एजेन्सी, जेठ ६
स्पेनिस फुटबल क्लब रियल मड्रिडका स्टार खेलाडी इडेन हाजार्डले जारी सिजन घरेलु लिग आफूहरूले जित्ने दाबी गरेका छन् । कोरोना भाइरसको त्रास छिचोल्दै ला लिगा सुचारु हुने तयारी चल्दै गर्दा हाजार्डसहित रियलका सबै खेलाडी अहिले प्रशिक्षणमा व्यस्त छन् । ला लिगा क्लबले हिजोबाटै सामूहिक प्रशिक्षण सुरु गरिसकेका छन् ।

गत समर सिजनमा इंग्लिस क्लब चेल्सीबाट रियल आएका बेल्जियन स्टार हाजार्ड रियलका पहिलो सिजन निष्प्रभावी छन् । दुईपटक घाइते हुँदा हाजार्डले धेरैजसो खेल गुमाए भने खेलेका खेलमा पनि उनले प्रभाव जमाउन सकेनन् । तर, अब भने उनी ठीकठाक टोलीमा फर्किन अबका बाँकी खेल खेल्न आतुर देखिन्छन् ।

‘म चोटमुक्त भएको छ । अहिले म आफूलाई ठीकठाक अनुभूत गरिरहेको छु । हामी समूहमा प्रशिक्षण गरिरहेका छौं । दुई महिनापछि हामी मैदानमा आएकाले हामी सबै उत्साहित भएर प्रशिक्षण गरिरहेका छौं । हामी यी खाली दिनमा प्रशिक्षणलाई सफलतापूर्वक पूरा गर्न र आगामी खेलका लागि आतुर छौं,’ हाजार्डले भने ।

हाजार्डले ला लिगा सुचारु भएर सिजन पूरा हुँदा आफूहरू च्याम्पियन बन्ने बताए । ‘हामी अंक तालिकामा बार्सिलोनाभन्दा धेरै टाढा छैनौं । २ अंक जुनसुकै बेला भेट्टाउन सक्छौं । हामीलाई यो विश्वास छ, सिजन पूरा हुँदा रियल मड्रिड ला लिगाको च्याम्पियन बन्नेछ,’ हाजार्डले भने ।

हाजार्डले च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीसँगको दोस्रो लेगको खेलमा कमब्याक असम्भव नरहेको पनि बताए । ‘म्यानचेस्टर सिटीसँगको पुनरागमन असम्भव छैन । यदि हामीले आफ्नो स्तरको खेल्यौं भने हामी अर्को चरण जान सक्छौं । उनीहरू एक बलिया टोली पुनरागमन कठिन हुनसक्छ । तर, हामी उनीहरूको घरमा सुखद् नतिजा निकालेर अर्को चरण जानेछौं,’ हाजार्डले भने ।

प्रकाशित मिति ६ जेष्ठ २०७७, मंगलवार १९:५३
Loading...