बार्सिलोनालाई जिदानको चुनौती

एजेन्सी, जेठ ५
कोरोना भाइरस महामारीका कारण स्थगित स्पेनको शीर्ष फुटबल लिग ला लिगा सुचारु हुने अफिसियल मिति तय भइसकेको छैन । तर, क्लबहरूले अघिल्लो साताबाटै प्रशिक्षण थालिसकेका छन् भने आज सोमबारदेखि १० जनासम्म समूहमा रहेर पशिक्षण गर्न अनुमति पाइसकेका छन् । यसको अर्थ ला लिगा चाँडै सुचारु हुनेछ ।

यसैक्रममा, रियल मड्रिडका प्रमुख प्रशिक्षक जिनेदिन जिदानले सिजनका बाँकी खेल र उपाधि होडबारे धारणा राखेका छन् । ‘मार्सा’ पत्रिकासँग कुरा गर्दै फ्रेन्च कोचले आफूहरू लिग सुचारु हुने दिनको पर्खााइमा रहेको बताएका छन् । ‘हामीले निकै कठिन चुनौतीसँग सामान गर्नु परिरहेको छ । यो क्षति र पीडा व्यक्त गर्न सकिँदैन । तर, हामी यी सबैबाट पार पाएर सामान्य दिनमा फर्किनुपर्छ,’ जिदानले भने, ‘हामी सुरक्षित तरिकाले फुटबलका दिन फर्काउन तयार छौं ।’

जिदानले सिजन सुचारु हुँदा रियल मड्रिड उच्च तयारीसाथ आउने बताए । ‘ला लिगामा हामी अहिले बार्सिलोनाभन्दा २ अंकले पछि छौं । तर, हामीसँग अझै थुप्रै खेल बाँकी छन् । यी खेलले नतिजा जता पनि लैजान सक्छ,’ जिदानले भने, ‘तर, हामी बार्सिलोनाभन्दा अघि जान चाहन्छौं । हामी च्याम्पियन बन्न चाहन्छौं । र, त्यसका लागि सबथोक गर्न तयार छौं ।’

जिदानले युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्धको दोस्रो लेगको खेलबारे अहिले नै नसोचेको बताए । ‘सिटीसँगको खेलबारे मैले अहिले नै मैले सोचेको छैन । किनभने, यसका लागि थुप्रै समय छ । समय आएपछि सोचिनेछ,’ जिदानले भने ।

च्याम्पियन्स लिगको अन्तिम १६ मा रियल सिटीसँग आफ्नै घरमा १–२ ले हारेको छ । दोस्रो लेग सिटीको घरेलु मैदानमा हुनेछ । यता, ला लिगामा अन्तिम ११ खेल बाँकी छन् । २७ खेल सकिँदा बार्सिलोना ५८ अंकसहित शीर्ष स्थानमा छ भने रियल ५६ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति ५ जेष्ठ २०७७, सोमबार ०९:४६
Loading...