कोरोना छिचोल्दै जर्मनीमा फुटबल सुरु : डर्टमुन्डको शानदार जित

काठमाडौं, जेठ ३
कोरोना भाइरसको महामारी छिचोल्दै युरोपियन देश जर्मनीमा लिग फुटबल सुचारु भएको छ । युरोपका शीर्ष लिगअन्तर्गत बुन्डेसलिगामा शनिबारदेखि २६औं हप्ताका खेल सुरु भएका हुन् । ६४ दिनपछि लिग फुटबल सुचारु हुँदा उपाधि होडमा रहेको बोरुसिया डर्टमुन्डले शाल्केमाथि ४–० को फराकिलो जित निकालेर सुखद् सुरुआत गरेको छ ।

लकडाउनको पालना गर्दै दर्शकबिना खाली घरेलु रंगशालामा डर्टमुन्डले पाहुना टोली शाल्केलाई ४–० ले हराउनेक्रममा ३ जना खेलाडीले गोल गरे । उसले पहिलो हाफमा २ र दोस्रो हाफमा २ गोल गरेको थियो ।

आफ्नो घरमा डर्टमुन्डले २९औं मिनेटमा अर्लिङ हल्यान्डको गोलबाट अग्रता लिएको थियो । त्यसपछि पहिलो हाफको अन्तिम मिनेटमा राफेल गुरेरियोले गोल गरेपछि डर्टमुन्डले पहिलो हाफमा २–० ले अग्रता लियो ।

त्यसपछि दोस्रो हाफमा डर्टमुन्डले २ गोल थप्यो । ४८औं मिनेटमा थ्रोगान हाजार्डले गोल गरे भने ६३औं मिनेटमा गुरेरियोले नै व्यक्तिगत दोस्रो गोल गर्दा डर्टमुन्डले क्लिन सिटसहितको ४–० को प्रभावशाली जित निकाल्न सफल भयो ।

यो जितपछि डर्टमुन्डले उपाधि होडमा लिग लिडर बार्यन म्युनिखमाथि दबाब बढाएको छ । २६ खेलबाट ५४ अंक जोडेको डर्टमुन्ड अब एक खेल कमी खेलेको बार्यनभन्दा मात्रै १ अंकले पछि छ । पराजित शाल्के ३७ अंकसहित आठौं स्थानमा झरेको छ ।

प्रकाशित मिति ३ जेष्ठ २०७७, शनिबार २२:४८
Loading...