मेस्सी भन्छन्– ‘रियल मड्रिडले हामीलाई सजिलै ला लिगा च्याम्पियन बन्न दिनेछैन’

एजेन्सी, जेठ २
स्पेनिस क्लब बार्सिलोनाका कप्तान लिओनल मेस्सीले जारी सिजन घरेलु ला लिगाको उपाधि जित्न अझै चुनौतीपूर्ण रहेको बताएका छन् । कोरोना भाइरसको महामारीपछि क्लब फुटबल फर्किन लाग्दै गर्दा मेस्सीले स्पेनको ‘स्पोर्टस्’ पत्रिकासँग कुरा गदै यस्तो भनाइ राखेका हुन् ।

लिग सुचारु भएपछि बार्सिलोनाले लिगको शीर्षस्था कायम राखेर लिग पूरा गर्न प्रयास गर्ने बताउँदै मेस्सीले रियल अबका दिनमा चुनौतीपूर्ण हुने बताए । जारी सिजन आफूहरूभन्दा रियलले राम्रो खेलिरहेको बताउँदे मेस्सीले आफूहरूलाई सजिलै लिग च्याम्पियन बन्न रियलले नदिने बताए ।

ला लिगामा हाल २७औं साताका खेल सकिएका छन् । जहाँ बार्सिलोना ५८ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ भने रियल मड्रिड ५६ अंकसहित दोस्रो स्थानमा रहेको छ । समान खेल सकिँदा रियल मात्रै २ अंकले पछि छ । यो एक बराबरीको अंक हो ।

‘लिग पुनः सुरु हुँदा हामी २ अंकसहित शीर्ष स्थानमा हुनेछौं, यो राम्रो अवस्था हो । तर, लिगमा अझै थुप्रै खेल बाँकी छन् । यी खेलले नतिजा जता पनि लैजान सक्छ,’ मेस्सीले भनेका छन्, ‘हामी उपाधि जित्न आतुर छौं । तर, रियल मड्रिडले हामीलाई सजिलै च्याम्पियन बन्न दिनेछैन । किनभने, उनीहरू यसपटक राम्रो गरिरहेका छन् । हामीसँग भएको २ अंकको अग्रता ठूलो कुरा होइन । उनीहरूले हामीलाई क्लासिकोमा हराइसकेका छन् ।’

मेस्सीले कोरोनापछि फुटबल फर्किन लाग्दा आफू निकै खुसी रहेको पनि बताए । ‘हामी अझै पनि निकै कठिन र भयावह चुनौतीसँग जुधिरहेका छौं । तर, यसका बीच पनि मैदानमा फुटबल फर्किन लाग्दा म निकै खुसी छु । मलाई लाग्छ, यसले मानिसको पीडादायी जीवनशैली भंग गर्नेछ,’ मेस्सीले थपे ।

प्रकाशित मिति २ जेष्ठ २०७७, शुक्रबार २१:०१
Loading...