ला लिगा फर्काउने सम्बन्धमा यसो भन्छन् रामोस

एजेन्सी, जेठ १
कोरोना भाइरस महामारीका कारण स्पेनिस लिग ला लिगा सुचारु हुने निश्चित हुन नसकिरहेका बेला रियल मड्रिडका कप्तान सर्जियो रामोसले स्पेको अर्थतन्त्र उकास्न फुटबल आवश्यक रहेको बताएका छन् । आफ्नो देशमा मानिस कोरोनाको असर, त्रास र पीडामा रहेका बेला पनि फुटबलले उनीहरूलाई सामान्य जीवनमा फर्किन मदत गर्ने बताएका छन् ।

एक अन्तर्वार्तामा कुरा गर्दै रियलका डिफेन्डर रामोसले स्थगित ला लिगा बन्द रंगशालामा भए पनि सुचारु हुन सके त्यसले मानिसलाई पीडाबाट भुलेर सामान्य जीवनमा फर्किन सघाउनुका साथै देशको अर्थतन्त्रमा टेवा दिने बताएका छन् । ‘मेरो विचारमा देश यतिबेला फुटबल चाहन्छ । आर्थिक गतिविधि बढाउन र मानिसको पीडामा डुबेको ध्यान भंग गर्न पनि फुटबल आवश्यक छ,’ रामोसले भने ।

कोरोनाका कारण स्थगित ला लिगा स्पेनमा अर्को महिनाबाट सुचारु गर्ने तयारी छ । अहिले ला लिगाका सबैजसो क्लबले प्रशिक्षण थालिसकेका छन् । स्पेनमा हालसम्म कोरोनाबाट २७ हजारभन्दा बढीको ज्यान गइसकेको छ भने त्यहाँ २ लाख ७५ हजारभन्दा मानिस संक्रमित भएका छन् ।

रामोसले कोरोनाको त्रासबीच ला लिगा फर्काउँदा सबैजना सजग हुनुपर्ने पनि बताए । ‘ला लिगा फेरि सुरु हुनेछ । तर, अबका दिनमा हामी सबै ज्यादै सचेत हुनु आवश्यक छ । हामी फुटबल खेल्दै कोरोना भाइरसलाई पनि हटाउन सक्छौं,’ रामोसले भने ।

प्रकाशित मिति १ जेष्ठ २०७७, बिहीबार २१:५२
Loading...