‘रियल मड्रिडमा रोनाल्डोको स्थान एमबाप्पेले मात्रै लिन सक्छन्’

एजेन्सी, वैशाख २९
स्पेनिस फुटबल क्लब रियल मड्रिडले फ्रेन्च स्टार केलियन एमबाप्पेलाई निकट भविष्यमा भित्र्याउने योजना बनाएको छ । उसले आगामी सिजन नत्र सिजन २०२२–२३ का लागि हाल २१ वर्ष पुगेका गोल मेसिन खेलाडी भित्र्याएर पूर्वस्टार क्रिस्टियानो रोनाल्डोको अभाव टार्न चाहन्छ । धेरैले एमबाप्पेले करिअरमा ठूला सफलता पाउन रियल नै सबैभन्दा उचित क्लब रहेको बताउँदै आएका छन् ।

पिएसजीका पूर्वप्रशिक्षक युनाई इम्रीले पनि एमबाप्पेले पिएसजी छाडेको अवस्थामा रियल नै सबैभन्दा सही क्लब हुने बताएका छन । ‘यो धेरैलाई थाहा छ, उनका लागि रियल मड्रिड सुहाउने क्लब हो । रियल पनि उनलाई चाहन्छ । मलाई पनि यो लाग्छ कि, पिएसजी छाड्ने अवस्थामा उनका लागि रियलभन्दा उचित अर्को क्लब छैन,’ इम्रीले भन ।

इम्रीले रियलमा रोनाल्डोको स्थान लिन सक्ने यो समयमा यदि कुनै खेलाडी छ भने उनी एमबाप्पे मात्रै रहेको पनि बताए । ‘रियल मड्रिडमा रोनाल्डोले जे–जति गरे, त्यत्ति जोकोहीलाई गर्न ज्यादै कठिन छ । तर, एमबाप्पेले उनको स्थान लिन सक्छन् । किनभने, एमबाप्पे रोनाल्डोकै शैलीका खेलाडी हुन्,’ इम्रीले भने, ‘यदि रियलबाट खेले एमबाप्पेले करिअरमा सबैखाले सफलता प्राप्त गर्नेछन् ।’

प्रकाशित मिति २९ बैशाख २०७७, सोमबार ०८:२६
Loading...