आर्सनलका अउबामेयाङ भित्र्याउन सक्रिय रियल मड्रिड

एजेन्सी, वैशाख २९
स्पेनिस फुटबल क्लब रियल मड्रिडले इंग्लिस क्लब आर्सनलका फरवार्ड पियरे इम्रिक अउबामेयाङ भित्र्याउन सक्रियता बढाएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका रिपोर्टअनुसार रियलले गाबोनका खेलाडीलाई आगामी सिजनका लागि भित्र्याउन तयारी गरेको छ । आर्सनलका कप्तानसमेत रहेका अउबामेयाङलाई रियलले लुका जोभिकको स्थानमा भित्र्याउन चाहेको छ ।

सर्बियाका फरवार्ड जोभिकलाई रियलले गत समरमा जर्मन क्लब फ्रान्कफुर्टबाट भित्र्याए पनि जोभिकको पहिलो सिजन निकै खराब रह्यो । उनी हालै मात्र आफ्नै घरमा प्रशिक्षण गर्नेक्रममा घाइते भएपछि यो सिजनका सबै खेल गुमाउने पक्का भएको छ । उनले रियलका लागि यो सिजन मात्रै २ गोल गरेका छन् ।

आगामी समरमा रियलले जोभिकलाई बेचेर उनको स्थानमा नयाँ खेलाडी ल्याउन खोजिरहेको छ । त्यसका लागि उसले अउबामेयाङलाई उचित विकल्पका रूपमा हेरेको छ । रिपार्टअनुसार रियलले अउबामेयाङलाई आफूहरूले भित्र्याउन चाहेको जानकारी दिँदै आर्सनललाई आगामी जुन १५ सम्म निर्णय लिन अनुरोध गरेको छ ।

आर्सनलमा अउबामेयाङको यो सिजनको अन्त्यसँगै सम्झौता सकिनेछ । जारी सिजन आर्सनल प्रिमियर लिगमा निकै खराब अवस्थामा छ । आगामी सिजन उसलाई च्याम्पियन्स लिग वा युरोपा लिगमा छानिन धेरै मुस्किल अवस्था छ । ऊ हाल लिगको नवौं स्थानमा छ ।

अउबामेयाङ सन् २०१८ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट आर्सनल पुगेका थिए । जारी सिजन उनले क्लबका लागि ३२ खेल खेल्दै २० गोल गरेका छन् । उनलाई भित्र्याउन स्पेनकै अर्को क्लब बार्सिलोनाले पनि चासो दिएको खबर आइरहेका छन् ।

प्रकाशित मिति २९ बैशाख २०७७, सोमबार ०७:३२
Loading...