घरमा प्रशिक्षण गर्दागर्दै जोभिकको खुट्टाको हड्डी भाँच्चिएपछि ……

एजेन्सी, वैशाख २७
स्पेनिस फुटबल क्लब रियल मड्रिडका युवा फरवार्ड लुका जोभिक घाइते भएका छन् । आफ्नो देश सर्बियामा रहेका उनी घरमा प्रशिक्षण गर्नेक्रममा घाइते भएको क्लब रियलले पुष्टि गरेको छ । रियलले प्रेस विज्ञप्ति निकालेर जोभिकको दाहिने खुट्टाको हड्डी भाँचिएको जनाएको छ ।

अब जोभिक रियलको प्रशिक्षणमा तत्कालै फर्किनेछैनन् । जोभिक कोरोनाको त्रास फैलिइरहँदा स्पेनबाट आफ्नो देश सर्बिया गएका थिए । तर, ला लिगा क्लबले प्रशिक्षण थालेपछि उनी स्पेन फर्किने तयारीमा रहेका बेला घाइते भएका हुन् ।

यदि ला लिगाको यो सिजन पूरा भए जोभिकले सबै खेल गुमाउने देखिएको छ । जोभिक निको हुन कति समय लाग्छ भनेर क्लब रियलले नबताए पनि यस्तो केसमा खेलाडीलाई निको हुन दुईदेखि तीन महिनासम्म लाग्न सक्छ ।

रियलले जोभिकलाई गत समर सिजनमा जर्मन क्लब फ्रान्कफुर्टबाट ६५ मिलियन युरोमा भित्र्याएको थियो । रियल आएपछि जोभिकले जम्मा २४ खेल खेल्दै मात्रै २ गोल गरेका छन् । प्रशिक्षक जिनेदिन जिदानको नेतृत्वमा जोभिकले पर्याप्त समय पाउन सकेका छैनन् । उनी फ्रेन्च फरवार्ड करिम बेन्जेमाको विकल्पमा मात्रै खेलिरहेका छन् ।

क्लब रियलले भने बिहीबार सबै खेलाडीको स्वास्थ्य जाँच गरेर शुक्रबारदेखि व्यक्तिगत प्रशिक्षण सुरु गरिसकेको छ । स्पेनिस सरकारले पूर्ण प्रशिक्षणका लागि अनुमति नदिँदासम्म ला लिगा सबै खेलाडीले व्यक्तिगत प्रशिक्षण गर्नुपर्नेछ ।

प्रकाशित मिति २८ बैशाख २०७७, आईतवार ११:२०
Loading...