च्याम्पियन्स लिग : बार्सिलोना र नापोलीको दोस्रो लेगको खेल मिति तय

एजेन्सी, वैशाख २५
कोरोना भाइरसको महामारीबीच युरोपियन फुटबल फर्किने चहलपहल सुरु भएसँगै युइएफएले स्थगित सिजन पूरा गर्ने विषयमा तयारी थालेको छ । प्रतियोगिताको अन्तिम १६ मा अब चार खेल बाँकी छन् । फुटबल सुचारु हुँदा पहिलो चरणमा यी खेल सकिएपछि युइएफएले अर्को चरणको खेलका लागि योजना बनाउनेछ ।

स्थगित प्रतियोगिता सुचारु हुने मिति अफिसियल रूपमा सार्वजनिक भइनसके पनि युइएफएले अन्तिम १६ का बाँकी चार खेल खेलाउने मिति आन्तरिक रूपमा तय गरेको छ । जसअनुसार स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नापोलीबीचको दोस्रो लेगको निर्णायक खेल अगस्ट ८ तारिखमा खेलाउने तयारी गरिएको छ ।

यो खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ । यसअघि नापोलीको घरमा भएको पहिलो लेगको खेल १–१ को बराबरीमा सकिएको छ । बार्सिलोनाको घरमा हुने खेल दुवै टिमका लागि अन्तिम आठमा जान निर्णायक हुनेछ ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार यदि अबका दिनमा कोरोनाले थप भयावह अवस्था सिर्जना नगरे युइएफएले आन्तरिक रूपमा तय गरेको मितिलाई नै औपचारिक निर्णय गर्ने सम्भावना छ । बार्सिलोना र नेपालीको खेल भएकै दिन जर्मन क्लब बार्यन म्युनिख र इंग्लिस क्लब चेल्सीको खेल पनि खेलाइनेछ ।

प्रकाशित मिति २५ बैशाख २०७७, बिहीबार २१:०९
Loading...