प्रिमियर लिग सुचारु हुने नयाँ मिति तय

एजेन्सी, वैशाख २५
कोरोना भाइरसका कारण स्थगित इंग्लिस प्रिमियर लिग फुटबल सुचारु हुने नयाँ मिति तय भएको छ । इंग्लिस फुटबल संघले औपचारिक रूपमा यसबारे निर्णय गरिनसके पनि जुन १२ बाट सिजनका बाँकी खेल खेलाउन सकिने अपेक्षासहित संघले प्रिमियर लिगलाई तयारी थाल्न भनेको इंग्लिस मिडियाले जनाएका छन् ।

यसअघि फुटबल संघ र प्रिमियर लिगबीच जुन ८ बाट स्थगित सिजन सुचारु गर्ने सहमति भए पनि सो मिति केही पर सर्ने भएको हो । यसअघि सहमति भएको भन्दा एक साता मिति पर सारेर लिग सुचारु गर्ने गरी संघले प्रिमियर लिगलाई समय दिएको छ ।

यता, प्रिमियर लिगका सबै क्लबलाई मे १८ तारिखबाट व्यक्तिगत प्रशिक्षण थाल्न अनुमति दिइसकेको छ । त्यसको अवस्था हेरेर पूर्ण प्रशिक्षणका लागि सरकारले नयाँ निर्णय लिनेछ ।

प्रकाशित मिति २५ बैशाख २०७७, बिहीबार २०:२०
Loading...