‘रोनाल्डो एक सच्चा खेलाडी र असल मानिस’

एजेन्सी, वैशाख २५
इटालियन क्लब युभेन्टसका गोलकिपर माट्टेओ पेरिनले आफ्ना सहकर्मी क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् । उनले रोनाल्डोलाई एक सच्चा फुटबल खेलाडीका साथै एक असल मानिस भनेका छन् ।

पेरिन यस वर्ष (२०२०) मात्रै लोनमा युभेन्टसबाट सिरी ए क्लब जेनोआमा लोनमा गएका छन् । उनी यो सिजनका लागि मात्रै लोनमा त्यहाँ हुनेछन् । यसअघि उनी पोर्चुगिज क्लब बेनफिका जाने पक्का भए पनि मेडिकल जाँच सफल नभएपछि उनको सरुवा अघि बढेर पनि रोकिएको थियो ।

पेरिनले कतिपय मानिसले रोनाल्डोलाई अहंकारी खेलाडी भन्ने गरेको आफूले सुन्ने गरेको बताउँदै त्यो एकदमै गलत रहेको बताए । जेनोआ क्लबको अफिसियल मिडियासँग कुरा गर्दै उनले भनेका छन्, ‘कतिपय मानिस रोनाल्डोलाई अहंकारी खेलाडी भन्छन् । तर, मलाई त्यस्तो लाग्दैन । हामी उनका आलोचकको मुख थुन्न सक्दैनौं ।’

पेरिनले आफू बेनफिका जाने पक्का भएपछि रोनाल्डोले नै आफूलाई पोर्चुगलमा घरको व्यवस्था गरिदिएको बताए । ‘उनी एक सच्चा खेलाडी र असल मानिस हुन् । गत समरमा जब मैले बेनफिकाका लागि साइन गरें तर पछि रद्द भयो, त्यसबेला मेरा लागि पोर्चुगलमा उनैले घर खोजिदिएका थिए,’ पेरिनले भने ।

रोनाल्डो मैदानभित्र र बाहिर पनि सबैका लागि एक असल मानिस र साथी रहेको पेरिनले बताए । ‘मैले बेनफिका जाँदै गर्दा यो निर्णय लिन उनैले सहयोग गरेका थिए । उनले मलाई यो एकदमै राम्रो रोजाइ हो भनेका थिए । ड्रेसिङ रुममा उनी जोकोहीलाई मदत गर्न सधैं तयार हुन्छन् । उनी वास्तवमै एक असल मानिस र उच्च स्तरका खेलाडी हुन् । म उनको व्यवहारबाट केही दिनमै प्रभावित भएको थिएँ ।’

प्रकाशित मिति २५ बैशाख २०७७, बिहीबार १७:१९
Loading...