च्याम्पियन्स लिग : युभेन्टस र लियोनको दोस्रो लेगको खेलको मिति तय

काठमाडौं, वैशाख २५
कोरोना भाइरसको महामारीबीच युरोपियन च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ अन्तर्गत इटालियन क्लब युभेन्टस र फ्रेन्च क्लब लियोनको दोस्रो लेगको खेलको मिति तय भएको छ । युइएफएले सो खेलका लागि अफिसियल रूपमा मिति नतोके पनि आन्तरिक रूपमा उसले सो खेल अगस्ट ८ तारिखमा खेलाउने गरी समय निर्धारण गरेको छ ।

यसअघि लियोनको घरेलु मैदानमा भएको पहिलो लेगको खेल लियोनले १–० ले जितेको थियो । अब दोस्रो लेगको खेल युभेन्टसको घरेलु मैदानमा हुनेछ । यदि टुरिनमा सो खेल खेलाउन कठिन भए ‘न्युट्रल भेन्यु’को रूपमा फरक मैदानमा खेलाउन पनि सकिनेछ ।

इटालीमा फुटबल खेलाउन त्यहाँको सरकारले अनुमति दिइसकेको छ । तर, अब सबै खेल बन्द रंगशालामा खेलाइनेछ । युइएफएले कोरोनाको असर र खेलाडी तथा कर्मचारीको स्वास्थ्यलाई ध्यान दिँदै अगस्ट ८ मा खेलाउन सकिने तयारी गरेको छ ।

यता, युइएफएले हालसम्म औपचारिक रूपमा च्याम्पियन्स लिगको नयाँ तालिका सार्वजनिक गरेको छैन । तर, यसअघि अगस्ट ७ तारिखबाट सुरु गरेर अगस्ट २९ मा फाइनल खेलाउने गरी तालिका बनाउन प्रारम्भिक छलफल गरेको युइएफएको अध्यक्ष अलेक्जान्डर सेफरिन स्वयंले बताएका छन् ।

प्रकाशित मिति २५ बैशाख २०७७, बिहीबार १६:४४
Loading...