बार्यनले सिटीका सानेलाई न्यून मूल्यमै भित्र्याउँदै

एजेन्सी, वैशाख २४
इंग्लिस क्लब म्यानचेस्टर सिटीका युवा खेलाडी लिरोए साने आगामी समर सिजनमा क्लब छाडेर जर्मन क्लब बार्यन म्युनिख जाने पक्काजस्तै भएको रिपोर्ट बाहिरिएको छ । जर्मन मिडियायाका अनुसार बार्यन सिटीबाट आफ्नै देशका स्टार खेलाडी अनुबन्धका लागि नजिक पुगेको छ ।

बार्यनले साने भित्र्याउन गत समर सिजनबाटै चाहेको थियो । तर, साने यो सिजनअघि प्रि–सिजनको पहिलो खेल खेल्नेक्रममा घाइते भएपछि बार्यन चुप रहेको थियो । साने अहिले चोटमुक्त भइसकेका छन् । र, आगामी समर सिजनमा उनले बुन्डेसलिगा क्लबको जर्सी लगाउने पक्काजस्तै देखिन्छ ।

पछिल्लो समय बार्यन आफ्नो टोलीमा जर्मनीकै खेलाडीलाई उच्च प्राथमिकतामा राख्दै आएकाले साने उसको योजनामा परेका हुन् । साने जर्मनीकै खेलाडी हुन् । हाल २४ वर्षका पुगेका साने गत अगस्ट महिनाबाटै घाइते थिए ।

रिपोर्टअनुसार बार्यनले सानेलाई निकै कम ४५ मिलियन पाउन्डमै अनुबन्ध गर्न प्रयास गरिरहेको छ । यो अंकमा सिटीले पनि उनलाई छाड्न तयार हुने बताइन्छ । गएको सिजन बार्यनले सानेका लागि ८८ मिलियन पाउन्डको प्रस्ताव गरे पनि सिटी अनिच्छुक देखिँदा सानेको सरुवा भएको थिएन । तर, यसपटक घट्दो मूल्यमा सिटी साने छाड्ने पक्षमा उभिन सक्छ ।

यसअघि सिटीले सानेलाई जर्मन क्लब शाल्केबाट ४७ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । त्यसबेला पनि बार्यनले साने भित्र्याउन चाहेको थियो । तर, सिटीले बढी रकम दिएर सानेलाई उछिट्याएको थियो ।

जारी सिजन सानेले चोटका कारण टिमका लागि मात्रै एक खेल खेलेका छन् । प्रि–सिजनको पहिलो खेलमै उनी घाइते भएका थिए । प्रिमियर लिग क्लबबाट साने पनि आफ्नै देशको क्लब जान चाहेको बताइन्छ ।

प्रकाशित मिति २४ बैशाख २०७७, बुधबार २१:४०
Loading...