प्रशिक्षणमा फर्किनुअघि रियल मड्रिडका खेलाडीको स्वास्थ्य जाँच

एजेन्सी, वैशाख २४
कोरोना भाइरसको महामारीबीच फुटबल सुचारु हुने तयारी हुँदै गर्दा स्पेनिस ला लिगा क्लब रियल मड्रिडका खेलाडीको स्वास्थ्य जाँच गरिएको छ । आज रियलका सिनियर टोलीका सबै खेलाडीले क्लबको मेडिकल सेन्टर पुगेर आ–आफ्नो स्वास्थ्य जाँच गराएका हुन् ।

खेलाडी करिब २ महिना होम क्वारेन्टिनमा बसेर बाहिर निस्किएका हुन् । यसअघि रियलकै बास्केटबल खेलाडीमा कोरोना संक्रमण भएपछि स्पेनमा कोरोनाको त्रास फैलिएको थियो । त्यसपछि रियल मड्रिडका सबै खेलाडीलाई क्वारेन्टिनमा राखिएको थियो भने पछि सरकारले लकडाउन घोषणा गरेको थियो ।

प्रशिक्षणअघिको नियमित स्वास्थ्य जाँचका साथै कोभिड–१९ को जाँच पनि एकसाथ हुनेछ । स्पेनिस मिडियाले रियलका अधिकांश सिनियर टोलीका खेलाडीले आफ्नो स्वास्थ्य जाँच गराएको जनाएका छन् ।

जाँच सकिएपछि कप्तान सर्जियो रामोस र प्रशिक्षक जिनेदिन जिदानले घरेलु रंगशाला सान्टियागो बेर्नाबेउ पुगेर खाली रंगशलाको अवलोकन गरेका थिए भने आपसमा आगामी दिनका विषयमा छलफलसमेत गरेका थिए ।

खेलाडी, प्रशिक्षक, अन्य स्टाफ मेडिकल सेन्टर पुग्दा सबैले मुखमा मास्क, हातमा ग्लोब् लगाएका थिए भने खेलाडी एक्लाएक्लै निजी सवारी हाँकेर मेडिकल सेन्टर पुगेका थिए । उनीहरूलाई प्रहरीले सुरक्षा दिएर त्यहाँसम्म पुराएको थियो ।

ला लिगा क्लबले यसै साताबाट प्रशिक्षण थाल्दै छन् । सुरुआतमा खेलाडीले एक्लाएक्लै प्रशिक्षण थालेर त्यसपछि सामूहिक प्रशिक्षण गर्न पाउनेछन् । खेलाडी प्रशिक्षणमा फर्किन लागे पनि लिग सुचारु हुने अफिसियल मिति भने घोषणा भइसकेको छैन ।

ला लिगामा २७ खेल सकिएर अन्तिम ११ खेल बाँकी छन् । जसमा साबिक विजेता बार्सिलोना रियल मड्रिडलाई २ अंकले पछि पारेर शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति २४ बैशाख २०७७, बुधबार २०:३७
Loading...