मैदानमा फर्कियो फुटबल : युभेन्टसका खेलाडीले प्रशिक्षण थाले

एजेन्सी, वैशाख २४
युरोपियन टप–५ लिग खेल्ने विभिन्न लिगका क्लबका खेलाडी धमाधम प्रशिक्षणमा फर्किनेक्रम बढ्दो छ । खेलाडीहरूले प्रशिक्षण गरिरहेका तस्बिरले अब कोरोना भाइरसको महामारी सकिँदै गएको र मैदानमा फुटबल फर्किंदै गरेको अनुभूति हुन्छ ।

यसैबीच, इटालियन सिरी ए लिग क्लब युभेन्टसका खेलाडी पनि प्रशिक्षण फर्किएका छन । कप्तान जर्जियो चिलिनीको नेतृत्वमा खेलाडीले मंगलबारदेखि स्पोर्ट्स सेन्टरमा प्रशिक्षण सुरु गरेका छन् । पोर्चुगलबाट इटाली फर्किएका क्रिस्टियानो रोनाल्डो भने बाहिरबाट आएको हुनाले उनलाई दुई सातासम्म होम क्वारेन्टिमा राखिनेछ ।

करिब दुई महिनापछि खेलाडी प्रशिक्षण क्याम्पमा फर्किंदा निकै खुसी र रमाइलोसाथ प्रशिक्षण गरिरहेका देखिन्छन् । मंगलबार पहिलो दिनको प्रशिक्षणमा कप्तान जर्जियो चिलिनीसहित उपकप्तान लियोनार्दो बोनुची, मिडफिल्डर आरोन राम्सेसहितका खेलाडी सहभागी थिए ।

त्यहाँको सरकार र लिगले सुरुआती चरणमा व्यक्तिगत रूपमा प्रशिक्षण थाल्न अनुमति दिएपछि क्लबहरूले प्रशिक्षण थालेका हुन् । तर, खेलाडीले लकडाउनका सबै नियम र सर्त पालना गर्नुपर्ने छ । प्रशिक्षणमा सहभागी हुनुअघि सबै खेलाडी, प्रशिक्षक, सहयोगी र स्टाफको कोरोना जाँच गरिनेछ ।

सिरी ए लिगमा युभेन्टस लिगका २७ खेलपछि १ अंकको अग्रतासहित शीर्ष स्थानमा छ । लाजियो दोस्रो स्थानमा छ । लिगमा अब कूल ११ खेल बाँकी छन् । यी सबै खेल बन्द रंगशालामा खेलाउन त्यहाँको सरकारले निर्देशन गरेको छ ।

प्रकाशित मिति २४ बैशाख २०७७, बुधबार ०८:३३
Loading...