यी हुन् बार्सिलोनाले समरमा बेच्ने सिनियर टोलीका ८ खेलाडी

एजेन्सी, वैशाख २४
स्पेनको ला लिगा क्लब बार्सिलोनाले आगामी समर विन्डोमा टोलीका थुप्रै खेलाडी बेच्न सक्ने चर्चा व्यापक छ । कोरोना भाइरस महामारीका कारण क्लबलाई आर्थिक संकटमा पर्न नदिन क्लबले खर्चको व्यवस्थापन सहज बनाउन प्रमुख खेलाडी बेच्ने तयारी गरेको छ । स्पेनिस मिडियाहरूले समरमा सिनियर टोलीका ८ जना खेलाडी क्लबले बेच्ने तयारी गरेको खबर संप्रेषण गरेका छन् ।

बार्सिलोनाले बेच्ने खेलाडीको सूचीमा हाल टोलीमा कम भूमिकामा रहेका, फितलो प्रदर्शन गर्ने र बढ्दो उमेरका खेलाडी रहेका छन् । समरमा केही नयाँ र युवा खेलाडी अनुबन्ध गर्नका लागि टोलीमा रहेका केही प्रमुख खेलाडी बेचेर रकम जम्मा गर्ने योजनामा बार्सिलोना रहेको छ ।

बेच्न सक्ने खेलाडीको सूचीमा गत समरमा एथ्लेटिको मड्रिडबाट १२० मिलियन युरोमा अनुबन्ध भएका फ्रेन्च स्टार एन्टोनी ग्रीजम्यानदेखि लामो समयदेखि मैदानमा कम र अस्पतालको बेडमा ज्यादा बस्दै आएका फ्रेन्च विंगर उसामान डेम्बेले प्राथमिकतामा रहेका छन् । यो सिजन केहशी खेल मात्रै खेलेका छन् । उनी पटक–पटक घाइते हुँदै आएका छन् ।

अर्का खेलाडी चिलियन मिडफिल्डर अर्टुरो भिडाल हुन् । उनलाई नयाँ खेलाडी भित्र्याउँदा साटफेर डिलमा मिसाउने सम्भावना पनि छ । बार्सिलोनाले आफ्ना उरुग्वेन फरवार्ड लुइस स्वारेजलई पनि समरमा बिदा गर्ने चर्चा छ । सन् २०१४ देखि सिनियर टोलीमा प्रमुख खेलाडीका रूपमा रहँदै आएका स्वारेजको बढ्दो उमेरका कारण क्लब उनको बहिर्गमनको बाटोमा देखिएको छ ।

त्यसैगरी, बासिलोनाको बिक्री सूचीमा फ्रेन्च डिफेन्डर सामुएल उम्टिटी, क्रोएसियन मिडफिल्डर इभान राकिटिक, पोर्चुगिज डिफेन्डर नेल्सन समेडो र उपकप्तान सर्जी रोवेर्टो रहेका छन् । यी सबै खेलाडीको भविष्य क्याटलान क्लबमा अनिश्चित छ ।

यता, गत समरमा लोनमा जर्मन क्लब बार्यन म्युनिख गएका ब्राजिलियन खेलाडी फिलिपे कोउटिन्होलाई भने नयाँ प्रशिक्षक क्विके सेटिनले आगामी सिजन टोलीमै राख्ने योजना बनाएको खबर छ । भिडाल र राकिटिकजस्ता खेलाडी बेचेपछि मिडफिल्डमा समस्या हुन सक्नेमा सचेत रहँदै सेटिन प्ले मेकर कोउटिन्होलाई गुमाउने पक्षमा देखिँदैनन् ।

प्रकाशित मिति २४ बैशाख २०७७, बुधबार ०८:००
Loading...