फर्किंदै फुटबल : मे १५ बाट बुन्डेसलिगा सुचारु गर्न अनुमति

एजेन्सी, वैशाख २३
कोरोना भाइरसका कारण स्थगित जर्मनीको शीर्ष लिग बुन्डेसलिगा सुचारु हुने भएको छ । त्यहाँको सरकारले मे १५ (आजको १० दिनपछि) बाट स्थगित लिगका खेल सुचारु गर्न लिगलाई अनुमति प्रदान गर्न लागेको जर्मन मिडियाले जनाएका छन् ।

जर्मन चान्सलर एन्जेला मार्केलले शीर्ष दुई डिभिजनका लिग सुचारु गर्न अनुमति प्रदान गर्ने घोषणा बुधबार गर्नेछिन् । बुन्डेसलिगा र बुन्डेससलिगा–२ लाई एकैपटक सुचार गर्न अनुमति दिन लागिएको हो । यससँगै कोरोनाको महामारीपछि युरोपियन टप–५ लिगमा बुन्डेसलिगा सबैभन्दा पहिला सुचारु हुने लिग बन्ने भएको छ ।

जर्मनीमा कोरोनाको असर कायमै रहे पनि सरकारले महत्त्वपूर्ण क्षेत्रलाई सामान्यतर्फ लैजाने उद्देश्यअनुसार शीर्ष लिग सुचारु गर्न अनुमति दिने भएको हो । त्यहाँ हालसम्म ६ हजार ९ सय ९३ जनाको ज्यान गइसकेको छ ।

बुन्डेसलिगा क्लबले केही समयअघिबाटै प्रशिक्षण थालिसकेका थिए । यसै साता मात्र त्यहाँ बुन्डेसलिगा क्लबका कूल १० खेलाडीलाई प्रशिक्षणक्रममा कोरोना संक्रमण भएको पुष्टि भएको छ । तैपनि, सरकारले उच्च सावधानी अपनाएर लिग सुचारु गर्न अनुमति दिन लागेको हो ।

तर, लिगका बाँकी सबै खेल दर्शकबिना बन्द रंगशालामा खेलाउनुपर्नेछ । त्यसक्रममा खेल्ने सबै खेलाडी, प्रशिक्षक, अफिसियल, स्टाफको कोरोना जाँच गरेर मात्रै सहभागी गराइनेछ ।

बुन्डेसलिगामा हाल २५ खेलपछि बार्यन म्युनिख ५५ अंकसहित शीर्ष स्थानमा रहेको छ । ५१ अंक भएको बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा छ । लेइपजिग ५० अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति २३ बैशाख २०७७, मंगलवार २२:१५
Loading...