स्वारेजले रोजे बार्सिलोना छाडेपछिको नयाँ गन्तव्य

एजेन्सी, वैशाख २३
स्पेनिस क्लब बार्सिलोनाका उरुग्वेन फरवार्ड लुइस स्वारेजलाई क्लबले आगामी समर सिजनमा बेच्न तयारी गरेको छ । स्वारेजको बढ्दो उमेर र खस्किँदो प्रदर्शन साथै क्लबलाई आर्थिक संकटबाट बचाउन पनि क्लब स्वारेजको कोठा खोली गर्ने सम्भावना तयार देखिन्छ । उनी हाल ३३ वर्षका छन् ।

स्वारेजलाई बार्सिलोनाले सन् २०१४ मा इंग्लिस क्लब लिभरपुलबाट अनुबन्ध गरेको थियो । त्यसयता उनी लगातार टोलीको प्रमुख खेलाडीका रूपमा रहँदै आए पनि जारी सिजन उनका लागि अन्तिम सिजन हुनसक्ने चर्चा छ । कोरोना भाइरसका कारण क्लब आर्थिक संकटबाट बच्न समरमा केही खेलाडी बेच्ने तयारीमा छ । त्यसमध्येका एक स्वारेज पनि हुन् ।

क्लबको सो योजना बुझेका स्वारेज आफैंले पनि यदि बार्सिलोना छाड्नुपरे आफू कहाँ जाने भन्ने विषयमा बताएका छन् । उनले आफ्नो नयाँ गन्तव्य अमेरिकन लिग हुन सक्ने बताएका छन् । ‘भविष्य कसैलाई थाहा छैन । तर हालका लागि बार्सिलोनासँग मेरो सम्झौता छ,’ स्वारेजले भनेका छन्, ‘तर, भविष्यमा आकर्षक लिगका रूपमा अमेरिकन लिग राम्रो विकल्प हुने मैले देखेको छु । यो विकल्प उचित समयमा आए राम्रै हुनेछ ।’

यता, अमेरिकन लिग खेल्ने क्लब इन्टर मियामीका मालिक तथा पूर्वखेलाडीसमेत रहेकाडेभिड बेकह्यामले पनि युरोपका टप–५ लिगमा खेल्ने स्टार खेलाडीलाई आफ्नो क्लबमा भित्र्याएर क्लबलको प्रसिद्धी बढाउन चाहेका छन् । सुरुआतमा उनले टोलीमा नाम चलेका खेलाडी भित्र्याएर क्लबको चर्चा बढाउन चाहेका छन् ।

र, बेकह्यामको योजनामा बार्सिलोनाका लिओनल मेस्सी, युभेन्टसका क्रिस्टियानो रोनाल्डोसहितका खेलाडी पनि छन् । बेकह्यामले केही समयअघि एक अन्तर्वार्तामा भनेका थिए, ‘ठूला नामका खेलाडी म यहाँ चाहन्छु, यो साँचो हो । मेरो योजनामा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी छन्, अरू थुप्रै खेलाडी छन्, जो ठूला क्लबबाट खेलिरहेका छन् । हामी लामो योजनासाथ काम गरिरहेका छौं ।’

जारी सिजन स्वारेज लामो समयदेखि चोटसँग जुधिरहेका छन् । हाल उनी चोटमुक्त भइसके पनि तत्कालै मैदान फर्किन फिट भइसकेका छैनन् । भलै, हाल कोरोना भाइरसका कारण खेल ठप्प छ । तर, जारी सिजनका खेल सुचारु भए अन्तिम चरणका केही खेल उनले खेल्ने सम्भावना छँदैछ । यो सिजन उनले कूल २३ खेलबाट १४ गोल गरेका छन् ।

बार्सिलोनाका कप्तान लिओनल मेस्सीसँग राम्रो साझेदारी कायम गर्दै आएका स्वारेज अहिले पनि टोेलीका प्रमुख हिस्सा छन् । तर, आगामी सिजन उनका लागि टोलीमा स्थान साँघुरिने देखिन्छ । क्लबले नयाँ र युवा फरवार्ड भित्र्याउन खोजिरहेकाले बढ्दो उमेरका खेलाडी नयाँ सिजन टोलीको योजनामा नपर्न सक्छन् ।

प्रकाशित मिति २३ बैशाख २०७७, मंगलवार १७:१२
Loading...